पोखरीमा डुबेर २ बालकको मृत्यु

जाजरकोट । पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । सिँचाइका लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भेरी नगरपालिका–१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जाजरकोटले जनाएको छ ।

जाजरकोट प्रहरी प्रमुख (डीएसपी) सन्तोष रोकाका अनुसार खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो । दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाई पौडी खेल्न गएका थिए ।

पौडी खेल्न पोखरीमा पुगेका उनीहरुलाई डुबेको देखेपछि स्थानीय र प्रहरीले उद्धार गरेर १ जनालाई मिसन अस्पताल चौरजहारी र अर्कालाई जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको थियो । तर अस्पतालमा पुर्‍याउँदा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Translate »