महेन्द्रनारायण निधि क्रिकेटको उपाधि कर्णालीलाई

जनकपुरधाम । जनकपुरधाममा सम्पन्न महेन्द्रनारायण निधि टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले जितेको छ । फाइनल खेलमा सुदूरपश्चिमलाई ५१ रनले पराजित गर्दै कर्णाली विजयी भएको हो ।

नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ६ विकेटको क्षतिमा १४० रन जोडेको थियो ।

१४१ रनको लक्ष्यसहित ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १८.१ ओभरमा अल आउट हुँदै ८९ रन मात्र बनाउन सक्यो । आजको खेलमा ४ विकेट र १७ रन बनाएका सुनिस सिंह प्लेयर अफ दि म्याच भए ।

प्रतियोगिता अवधिमा उत्कृष्ट खेल प्रदर्शन गरेका कर्णालीका दीपेन्द्र रावत प्लेयर अफ दि सिरिज घोषित भए । उनले १६८ रन तथा ६ विकेट लिएका थिए । प्रतियोगितामा विजेता टिम कर्णाली प्रदेशले ३ लाख नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता सुदूरपश्चिम प्रदेशले २ लाख नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्‍यो ।

विजयी टिमलाई मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले शिल्ड, कप तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता जेठ १५ गते शुरु भएको थियो ।

Translate »