सुर्खेतमा ‘दादुरा रुवेला खोज तथा खोप’ अभियान शुरु हुँदै

सुर्खेत । सुर्खेतमा यही जेठ २८ गतेदेखि असार पाँच गतेसम्म १५ वर्ष मुनिका एक लाख नौ हजार बालबालिकालाई खोज तथा खोप अभियान मार्फत दादुराको सुई लगाईने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धी’ जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा जिल्लाका ५ सय ४७ वटा खोप केन्द्रबाट दादुराको सुई लगाईने जानकारी दिएको हो ।

सुर्खेत जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० मा ६५ जना शंकास्पद विरामीको चेकजाँच गर्दा पाँच जनामा दादुरा भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । उनले जिल्लाका तीन वटा पालिकामा दादुरा भेटिएको बताए । सुर्खेतसहित देशका १५ वटा जिल्लामा दादुरा फैलिइसकेको हुँदा सरकारले २०२६ सम्म दादुरा निवारण गर्ने नयाँ लक्ष्य लिएको छ ।

खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटाईने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले दादुराको खोप लगाइसकेका व्यक्तिलाई पनि दादुरा हुनसक्ने भएकाले बालबालिकालाई भने अभियानमा छुट्टाउन नहुने जनाए ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले दादुरा रुवेला उन्मुलन महाअभियानलाई सफलतापूर्वक अब सुर्खेतलाई पूर्ण खोप जिल्लाको रुपमा निरन्तर अघि बढाउन सबैको सहकार्य आवश्यक रहेको औल्याए ।

जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले दादुरा रुवेला उन्मुलन महाअभियानमा जिल्लाका सबै राजनीतिक दलसँगै स्थानीय तहको थप सक्रियता बढाउन सुझाव दिए ।

Translate »