मानव मस्तिष्कमा चिप लगाउन एफडीएले मस्कलाई दियो अनुमति
काठमाडौं । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले मानवको मस्तिष्कमा चिप राखेर परीक्षण गर्ने अनुमति पाएका छन् । मस्कले सह–स्थापना गरेको न्यूरोटेक स्टार्ट अप कम्पनी न्यूरालिंकलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले सोको अनुमति दिएको हो ।
कम्पनीले यसको घोषणा बिहीवार गरेको थियो । कम्पनीले यसअघि नै बाँदर र सुँगुरमा सो चिपको जडान गरेको थियो । सो परीक्षण सफल पनि भएको थियो । कम्पनीले लिंक नाम गरेको मानव मस्तिष्कमा राख्न मिल्ने चिप बनाइरहेको छ ।
यो प्रयोगको लक्ष्य मस्तिष्कलाई कम्प्युटरसँग जोड्नु हो । परीक्षणमा चिपको प्रयोग सफल भयो भने आँखै नदेख्ने मान्छेले चिपको सहायताले हेर्न सक्नेछन्, बोल्न नसक्नेले पनि बोल्न सक्नेछन् । पक्षघातका बिरामीले दिमागले औंलाले भन्दा छिटो स्मार्टफोन चलाउन सक्ने दाबी मस्कको छ ।
यसको मद्दतले अल्जाइमर्स, डिमेन्सिया र स्पाइनल कर्डमा चोटपटक जस्ता न्यूरोलोजिकल समस्याका कारण उत्पन्न रोगका उपचारमा पनि ठूलो फड्को मारिने आशा गरिएको छ । कम्पनीले अहिलेसम्म यो परीक्षणमा सहभागिता खुला गरेको छैन । यो प्रयोगको उद्देश्य मान्छेको दिमागलाई कम्प्युटरसँग सिधै कुराकानी गर्न सक्षम बनाउनु भएको डिसेम्बरमा न्यूरालिंकको एक प्रेजेन्टेशनको क्रममा मस्कले भनेका थिए ।
कम्पनीले मानवको दिमागमा चिप प्रत्यारोपणका लागि तयारी तीव्र पारेको छ । मस्कले सन् २०१९ को जुलाईमै न्यूरालिंकले सन् २०२० मा पहिलो मावन परीक्षण गर्ने वाचा गरेका थिए । उनको सो संकल्प अहिले पूरा हुन लागेको छ । एजेन्सी /आर्थिक अभियान