सांसदहरुको नाराबाजीपछि संसद् बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत बुधबार संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएका थिए ।
एमाले प्रमुख सचेतक पदम गिरीले माओवादीका तर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नदिने बताए ।
त्यसपछि एमालेले नाराबाजी शुरू गरेको थियो ।