बाङ्गेसीमल खोलामा तटबन्धन निर्माण

सुर्खेत । बस्ती कटान हुनबाट जोगाउन सुर्खेतको बाङ्गेसीमल खोलामा टटबन्धन निर्माण गरिएको छ । खहरे खोलामा तटबन्धन नहुँदा स्थानीय महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई आउन–जान असहज हुनुका साथै  नजिकै रहेको वस्तीलाई भूक्षयको जोखिमबाट बचाउन तटबन्धन निर्माण गरिएको हो ।

उत्थानशील नगरका लागि सामुहिक पहल योजनाको सहयोगमा तटबन्धन निर्माण भएपछि अहिले खोला किनारका बस्तीको सुरक्षा कवज मात्र होइन, सामान्य हिडडुल गर्न समेत सहज भएको छ ।

उज्जवल भोलिका लागि उत्थानशील पूर्वाधार निर्माणमा जोड दिँदै आएको नेपाल रेडक्रस सोसाईटी सुर्खेतको पहलमा उत्थानशील नगरका लागि सामुहिक पहल योजनाको ३ लाख, वीरेन्द्रनगर नगरपालिका–२, वडा कार्यालयको ३ लाख र १ लाख ३ हजार २ सय ४० रुपैयाँ समुदायको जनश्रमदानबाट तटबन्धन निर्माण गरिएको उत्थानशील नगरका लागि सामुहिक पहलका जिल्ला परियोजना अधिकृत मायाकुमारी सापकोटाले जानकारी दिईन् ।

उनले तटबन्धन निर्माणमा स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागितासँगै स्थानीय सीप, स्रोतसाधन एवं गरिवीको रेखामुनि रहेका नागरिकलाई केही दिनको रोजगारी समेत उपलब्ध गराईएको बताईन् ।

वर्षातमा भल आएको बेला बाहेक अन्य समयमा ओल्लो–पल्लो टोल आउन–जान अहिले सहज हुनुका साथै बस्ती कटान हुनबाट जोगिएको तटबन्धन निर्माण उपभोक्ता समितिका सचिव गायत्री कँडेलले बताईन् । उनले सरोकारवालासँग अब तटबन्धन निर्माणपछि खोलामा पक्की पुल निर्माण भईदिएको भए समुदायलाई ठूलो राहत पुग्ने जनाईन् ।

बाङ्गेसीमल खोलाले वर्षेनी वस्ती कटान गर्ने र वर्षातको भेलमा ठूलो समस्या झेल्नु परेको स्थानीय बासिन्दाको दुःखेसोपछि तटबन्धन निर्माण गरिएको नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखाका सभापति रामलाल आचार्यले बताए ।

उनले उच्च विपद् जोखिम रहेका क्षेत्रहरुको पहिचान, रोकथाम नियन्त्रण, तथा व्यवस्थापनमा रेडक्रसले सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गर्दै आईरहेको जनाए । उनका अनुसार सम्भावित विपद् तथा जलवायुजन्य परिवर्तनको जोखिम कम गर्न अहिले रेडक्रस सचेतनामुलक कार्यमा समेत जुटेको छ ।

Translate »