बेपत्ता भएको २४ वर्षपछि सम्पर्कमा

जाजरकोट ।  जाजरकोट भेरी नगरपालिका-२ तिमिलेका टीकाराम पुन २४ वर्षपछि सम्पर्कमा आएका छन् । माओवादी सशस्त्र द्वन्द्वको क्रममा राज्य पक्षबाट चरम यातना पाइ २०५६ सालदेखि घरपरिवारबाट सम्पर्कविहीन भएका पुन हालै सम्पर्कमा आएका हुन् ।

घरमा श्रीमती, दुई छोरा , दुई छोरी  रहेका उनी हाल भारतको  उत्तराखण्ड प्रदेश  उत्तरकासी जिल्ला, नेटवार पोष्ट अफिस मोरी तहसिल, गौरादी गाँउमा ब्यवसाय गरेर बसेको खुलेको हो ।

गाँउकै एक जना शिक्षक रुद्रबहादुर वलीसँगको भिडियो कलमार्फत् उनी सम्पर्कमा आएका हुन् । भारतको गौरादी गाँउमा घर बनाई स्याउको बगैंचा तयार गरी कृषि पेसामा जीवन विताइरहेको जानकारी दिएको शिक्षक वलीले बताए । तत्कालीन सुरक्षा फौजले माओवादी आरोपमा चरम यातना दिएपछि ज्यान जोगाउन भागेर भारत आएको र उतै कृषि ब्यवसाय गरेर बसेको टीकारामले बताए ।

पढाई लेखाई नभएका कारण पनि आफूले घरमा चिठी पठाउन नसकेको बताए । नेपालमा शान्ति स्थापना भएको थाह नै नपाएको बताए। अझै द्वन्द्वको उस्तै अवस्था होला भन्ने लागेको उनले बताए ।

उनलाई घरपरिवारले निकै खोजी गरे पनि कतै भेटाउन सकेका थिएनन् । कान्छो छोरा कर्णबहादुर उनी भाग्दा दुई वर्षका थिए । अहिले २६ वर्षका भइसकेका छन् । छोरा र श्रीमतीलाई लिन आउनका लागि टीकारामले अनुरोध गरेका छन् । टीकारामले भारतमा प्रेम राना नाम राखेका छन् । सोही नामबाट घरजग्गा खरिद गरेर स्याउ बगैँचा पना गरेका छन् । अन्नपूर्ण पोष्ट

Translate »