आर्थिक मन्दीको भविष्यवाणी गर्ने ‘लिपस्टिक इन्डेक्स’ : व्यापार बढ्योकी मन्दीको संकेत !

काठमाडौंं । अहिले चारैतिर मन्दीको हल्ला छ । कसैले अमेरिका मन्दीमै गइसक्यो भनिरहेका छन् । कसैले केही हप्ताभित्रै जान्छ भन्ने ठोकुवा गरिरहेका छन् ।

अहिले सबैको मनको एउटै भय अमेरिका मन्दीमा जाकिने अनि आफू अनि आफ्नो आर्थिक अवस्था के होला भन्ने छ । अमेरिका मन्दीमा गयो भने ढिलो चाँडो ऊसँगै विश्व अर्थतन्त्र पनि मन्दीमा फस्नेछ । अहिले नै त अवस्था डामाडोल छ ।

कम्पनीहरूले स्थिति बिग्रनुअघि नै केही भरथेग गर्न सकिन्छ कि भनेर नाफा बढाउन वा खर्च कम गर्न अनेक उपायहरू अपनाइरहेका छन् । सर्वसाधारणहरूको खर्च गर्ने क्षमता महँगीका कारण पहिले नै चौपट थियो । आर्थिक मन्दीले त के पो हुने हो ? यसको बाछिटाले क-कसलाई कसरी भिजाउँछ भन्न सकिँदैन ।

अर्थतन्त्रको स्वास्थ्य अवस्था अर्थशास्त्रका सिद्धान्तबाट मात्रै होइन, मान्छेको खरिदारीको व्यवहार र प्रवृत्तिबाट पनि स्पष्ट थाहा हुन्छ । यसलाई नाप्न अर्थशास्त्रीहरूले उपभोक्ताको सबैखाले व्यवहार केलाउँछन् । लिपस्टिक, भित्री वस्त्र, स्कर्ट, कार्डबोर्ड, ड्यापर, श्याम्पेनलगायत वस्तुहरूको विक्रीसम्बन्धी तथ्यांकलाई पनि आर्थिक मन्दीको भविष्यवाणी गर्न प्रयोग गरिन्छ ।

सुन्दा अचम्म लाग्यो ! हो, दशकौंदेखि अर्थशास्त्रीहरूले आर्थिक मन्दी आएको छ कि छैन भनेर हेर्ने यस्ता सूचकतिर पनि ध्यान दिएको पाइन्छ । यस्तो बेलामा धेरै चर्चा गरिने सूचक हो- लिपस्टिक इन्डेक्स । आर्थिक मन्दीको समयमा मानिसहरूले सकेसम्म खर्च कटौती गर्छन् । नचाहिने वा नभए पनि चल्ने सामानहरू किन्दैनन् । तर, यो परम्परागत मान्यता हो । सधैं यस्तो हुँदैन ।

केही विज्ञहरूका अनुसार ‘अफोर्डेबल’ विलासी वस्तुको हकमा यो नियम लागू हुन्न । आर्थिक अवस्था खराब देखिँदा मानिसहरू अलि बढी ‘लक्जरियस’ बन्छन् । ठिकठाक पैसा तिरेर किन्न सकिने विलासी वस्तु किन्नतिर धेरै लाग्छन् भन्ने यसको मान्यता हो । यो सूचकको सर्जक अमेरिकी अर्बपति कस्मेटिक व्यापारी एस्टे लडर हुन् ।

सन् २००१ मा अमेरिकी अर्थतन्त्र आर्थिक मन्दीको चपेटामा भएको बेलामा लडरले लिपस्टिकको विक्री घट्नुको सट्टा उल्टै बढिरहेको महसुस गरे । अर्थतन्त्रको अवस्था नराम्रो हुँदा लिपस्टिकको विक्री बढ्ने रहेछ भन्ने लाउडरले निस्कर्ष निकाले । अर्थतन्त्र जति जति नराम्रो अवस्थामा पुग्यो लिपस्टिकको विक्री झन् झन् बढ्यो ।

मान्छेहरूले स्वेच्छाचारी भएर खर्च गर्न सक्ने आम्दानी कम हुँदै गएपछि महँगा अनावश्यक वस्तु किन्ने विकल्प कहाँ हुन्छ ? तर, लिपस्टिक आर्थिक रूपमा थेग्न सक्ने विलासी वस्तु हो । यस्तोमा डिजाइनर ह्यान्ड ब्याग वा गरगहनाहरू किन्न नसकेको दुःख वा तुष लिपस्टिक किनेर मेटाउन खोजिन्छ । इतिहासभर यो सूचकको चर्चा बारम्बार भएको छ ।

सन् २००८ को मन्दीको समयमा पनि यस्तै प्रवृत्ति दोहोरियो । सन् १९२९ देखि सन् १९३३ ताका अमेरिका महामन्दीमा भएको बेलामा मेकअपको विक्री बढेको थियो । तर, लिपस्टिक एक मात्रै अफोर्डेबल विलासी वस्तु होइन । मन्दीको बेलामा पैसा बचाउन मान्छेहरू पार्लर सैलुन जानै छोडेको बेलामा नेल पालिसको विक्री पनि बढेको थियो । कोरोना भाइरसको महामारीको समयमा जति बेला पनि मास्क नै लगाउनु पर्ने बेलामा लिपस्टिक किन्नुको त अर्थ नै थिएन ।

त्यसैले त्यति बेला पर्फयूमको विक्री अकासियो । सन् २०२१ को पहिलो त्रैमासमा एक त्रैमासअघिको तुलनामा अत्तरको विक्री ४५ प्रतिशतले बढेको थियो । विक्रीको आकार महामारी पूर्वको स्तरभन्दा निकै धेरै थियो ।आर्थिक कठिनाइको समयमा मानिसले आफैंले आफ्नो मनोबल उकास्नु पर्ने हुन्छ ।

यस्तोमा लिपस्टिकलगायत अफोर्डेबल बिलासी वस्तुहरू सोको माध्यम बन्ने सौन्दर्य प्रशाधन उद्योगका विज्ञहरू बताउँछन् । सन् २००८ मा अमेरिकी अर्थतन्त्र आर्थिक मन्दीतिर धकेलिँदै गर्दा विश्वको ठूला कस्मेटिक ब्रान्डको विक्री दोहोरो अंकले बढेको थियो । कोरोना भाइरसको महामारीको कारण आर्थिक मन्दी निम्तिएको समयमा पनि लिपस्टिकको विक्रीमा केही बढोत्तरी देखियो ।

गएको कयौं महीनाहरूमा अमेरिकामा महँगी दशकौंयताकै उत्कर्षमा हुँदा पनि लिपस्टिकको विक्री घटेन । आर्थिक समृद्धिको बेलामा पनि यसको विक्री बढेको अनि आर्थिक सुस्ती बीच घटेका कयौं उदाहरणहरू भेटिन्छन् । स्मार्टफोनको बढ्दो प्रयोग अनि सेल्फीका कारण पनि यो प्रवृत्ति प्रभावित भएको हुन सक्छ ।

कोभिड भर्खरै देखिएको बेलामा यो सूचकले काम गरेन । कोभिड सर्ला भनेर मास्क नै लगाएर बस्नु पर्ने बेला भएर पो लिपस्टिकको विक्री प्रभावित भएको हो कि ? पछि ‘रिमोट वर्क’ र ‘वर्क फ्रम होम’ नीति लागू भएपछि भने लिपस्टिकक लगायत सौन्दर्य प्रशाधनको विक्री बढेको थियो ।  त्यसैले आर्थिक मन्दीको ठ्याक्कै प्रक्षेपण गर्न यो भरपर्दो माध्यम नहुन पनि सक्छ ।

यो सूचक फुल प्रुफ भने होइन । अर्थतन्त्र कुन दिशातिर गइरहेका छन् भनेर हेर्ने रमाइलो तरिका हो । आर्थिक मन्दी वा कठिनाइको बेलामा तपाईंले लिपस्टिक, अत्तरलगायत वस्तुमा कत्तिको खर्च गर्ने गर्नुभएको छ ? एजेन्सीहरूको सहयोगमा  आर्थिक अभियान

Translate »