तरलता सहज भयो, कर्जा विस्तार भएन

काठमाडौं । निक्षेप वृद्धिको तुलनामा ऋण प्रवाह नहुँदा बैंकमा लगानीयोग्य पूँजी (तरलता) बढ्दै गएको छ । तरलता सहज भए पनि बैंकहरूले पूँजीकोषको दबाब र बजारको अवस्थाका आधारका कडाइ गर्दा कर्जा विस्तार हुन नसकेको हो ।

नेपाल बैंकर्स संघका अनुसार २०८० वैशाखसम्ममा वाणिज्य बैंकहरूको तरलता अनुपात ८४ दशमलव ८८ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ९० प्रतिशतसम्म तरलता अनुपात कायम गरी ऋण प्रवाह गर्न पाउने भएकाले साढे २ खर्ब हाराहारीमा ऋण प्रवाह गर्ने क्षमता छ । तर, बैंकहरूले कर्जा विस्तार गर्न सकेको छैनन् ।

चालू आर्थिक वर्ष (आव) को वैशाखसम्म वाणिज्य बैंकहरूले २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब २३ अर्ब ७७ करोड रुपैयाँ मात्र ऋण प्रवाह गरेका छन् । निक्षेपको तुलनामा ऋण प्रवाह नहुँदा बैंकहरूमा तरलताको अवस्था सहज देखिएको संघले जानकारी दिएको छ । संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी तरलताको अवस्था सहज बन्दै गए पनि पूँजीकोषको दबाब र बजारको अवस्थाले ऋण प्रवाह बढ्न नसकेको बताउँछन् । ‘बैंकहरूमा तरलताको अवस्था केही सहज देखिएको छ,’ संघले सोमवार गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘तर, पूँजीकोषको दबाब र बजारको अवस्थाका कारण बैंकहरूले सचेत भएर मात्र लगानी गर्नुपर्ने अवस्था छ ।’

सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये चारओटाको पूँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको सीमानजिकै पुगेको छ । पूँजीकोष अनुपात कसिलो हुँदा व्यवसाय विस्तार गर्नै अप्ठ्यारो पर्न थालेपछि हकप्रद शेयर निष्कासन वा अन्य नीतिगत सहुलियत माग गरिएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।


राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ पुसमा ११ ओटा बैंकको प्राथमिक पूँजीकोष (टायर वान क्यापिटल) १० प्रतिशतभन्दा कम छ । यसमध्ये सबैभन्दा कम माछापुच्छ«े बैंकको ८ दशमलव ६४ प्रतिशत छ भने कुमारी र प्रभुको ९ प्रतिशतभन्दा कम छ ।

बैंकहरूले प्राथमिक पूँजीकोष अनुपात ८ दशमलव ५ प्रतिशतभन्दा कममा राख्नुपर्छ । कर्जा प्रवाह गर्दा प्राथमिक पूँजीकोष अनुपात घट्ने भएकाले बैंकहरूले व्यवसाय विस्तार गर्न सकेका छैनन् । पूँजीकोष अनुपात तोकिएभन्दा कम भएमा त्यस्ता बैंकहरूलाई लाभांश वितरण गर्न राष्ट्र बैंकले रोक लगाउँछ ।

बैंकहरूले सरकारी ऋणपत्रमै ९ प्रतिशत ब्याजदर पाउने भएकाले उनीहरूलाई ऋण विस्तारको दबाब कम छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाबाट बैंकदर घटाए पनि ट्रेजरी बिल्सको ब्याजदरमा कटौती गरेको छैन ।

तर, पछिल्लो समय बैंकहरूको आधारदरसँगै ब्याजदर समेत घट्दै गएकाले आगामी दिनमा कर्जा विस्तार हुने संघका अध्यक्ष केसीले बताए । ‘उच्च विन्दुमा पुगेको आधारदर र ब्याजदर घट्न थालेको छ,’ उनले भने, ‘अबको २ महीनामा पूँजीकोष सहज भएका बैंकहरूले कर्जा विस्तार गरे भने कर्जा ६–७ प्रतिशत पुग्न सक्छ ।’

राष्ट्र बैंकले चालू आवमा १३ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो । संघका अनुसार पुसमा १० दशमलव १९ प्रतिशत पुगेको आधारदर वैशाखमा १० दशमलवल ४८ प्रतिशतमा झरेको छ । यस्तै माघमा १३ दशमलव शून्य ३ प्रतिशत पुगेको कर्जाको ब्याजदर पनि वैशाखमा १२ दशमलव ४८ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार असारदेखि कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेडदर) ४ प्रतिशतमा झार्नुपर्ने भएकाले ब्याजदर थप घट्ने अध्यक्ष केसीले बताए । हाल बैंकहरूको स्प्रेडदर ४ दशमलव २ प्रतिशत छ ।  आर्थिक अभियान

Translate »