चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर

सुर्खेत । गाउँलेलाई चट्याङबाट जोगाउन सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६, मेहलीको ल्याडामा अर्थिङ टावर निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, वातावरण सुधार समाज, अन्तरनिर्भर समाज र नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा सञ्चालित उत्थानशील नगरका लागि सामुहिक पहल परियोजनासँगै स्थानीय नागरिकको श्रमदानमा चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण गरिएको हो ।

वीरेन्द्रनगरका मेहली, पारेगाउँ, रतु, गर्पन गाउँहरु चट्याङको उच्च जोखिम रहेकाले जनधनको सुरक्षा गर्न अर्थिङ टावर राखेर सुरक्षित बनाइएको नेपाल रेडक्रस सोसाईटी शाखा सुर्खेतका सभापति रामलाल आचार्यले बताए । उनले वीरेन्द्रनगर नगरपालिकाका–१५ र १६ नम्वर वडामा चट्याङको शक्ति नष्ट गर्ने अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको जनाए ।

‘चट्याङले मानवीय क्षति मात्रै गरेको छैन, भौतिक सम्पत्तिमा समेत क्षति पु¥याएको छ, तर पनि त्यसको लेखाजोखा भने छैन,’ उनले भने, ‘बाढीले देखिनेगरी भौतिक सम्पत्तिमा क्षति गर्छ तर चट्याङ् गुपचुपमा क्षति पु¥याएर जान्छ, अनि कसैलाई चासो हुन्न ।’ उनले बाढी पहिरो, आगलागीजस्ता अरु प्राकृतिक विपत्तिको जस्तो चट्याङले मानिसको ज्यान लिएको समाचार खासै बाहिर नआउने गरेको बताए ।

तर पनि मानवीय क्षतिका हिसाबले भने पहिलो नम्बरमै चट्याङ देखिन्छ । त्यस्तै बाढी, पहिरो, आगलागीजस्ता अन्य प्राकृतिक विपत्तिका क्षति रोक्नेजस्ता कार्यहरुजस्तो प्राथमिकतामा पनि चट्याङ पर्न नसकेको उनको भनाइ थियो ।  ‘खेतमा काम गर्दागर्दै या सुतिरहेको बेला चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय क्षति पु¥याइरहेको छ,’ उनले भने, ‘चट्याङकै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो जनधनको क्षति भइरहेको छ ।’

तथ्याङ्कले बाढी र पहिरोको हाराहारीमै आगलागी र चट्याङले क्षति पु¥याइरहेको देखाएको छ । तर क्षति न्यूनीकरणका उपाय भने शून्य नै छ । ‘वीरेन्द्रनगरको लेकाली क्षेत्र चट्याङको उच्च जोखिम रहेकाले स्थानीयको जनधनको सुरक्षा गर्न विभिन्न संघसंस्थाको सहयोगमा अर्थिङ टावर निर्माण गरेका हौं,’ अर्थिङ टावर निर्माण उपभोक्ता समितिका अध्यक्ष बालाराम पौडेलले भने, ‘मेहलीको ल्याडाको डाँडोमा तीस फिट अग्लो फलामे पाइपमा तामाको ‘एन्टिना’ राखेर भुइँमा चार फिट गाडेर उक्त टावर निर्माण गरिएको हो ।’

उक्त एन्टिनाबाट तामाको तार लगेर नुन र कोइलासँगै गाडिएको तामाको पातामा जोडेर अर्थिङ गरिएको उनले जानकारी दिए । उत्थानशील नगरका लागि सामुहिक पहल परियोजनाका जिल्ला परियोजना अधिकृत मायाकुमारी सापकोटाले मेहली र पारेगाउँमा अर्थिङ टावरको काम सबै स्थानीय प्राविधिकहरुले गरेको बताईन् । अर्थिङ टावरले चट्याङको शक्तिलाई तानेर जमिनमा पु¥याएर नष्ट गरिदिने भएकाले गाउँमा अर्थिङ टावर राखिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘टावर निर्माण गरेसँगै यतिबेला ल्याडा गाउँका ६५ घरका तीन सयभन्दा बढी स्थानीयसहित भौतिक संरचना र पशुपक्षी चट्याङबाट सुरक्षित बनेका छन् ।’ उनका अनुसार अर्थिङ टावर निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–१५ नम्वर वडाको ५० हजार, पहल परियोजनाको ५० हजार र ६० हजार बराबरको श्रमदान उपभोक्ता समितिले गरेको थियो ।

अर्थिङ टावर निर्माणले चट्याङबाट हुन सक्ने क्षतिबाट केही सुरक्षित महसुस गरेको वीनपा–१६, का वडा सदस्य हेमराज ढकालले विश्वास व्यक्त गरे ।

प्राकृतिक प्रकोप भए पनि विकसित मुलुकको अभ्यास हेर्दा चट्याङको प्रकोपबाट हुने मानवीय र भौतिक क्षति केही हदसम्म रोक्ने गरिएको नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदीले बताए । उनले कर्णालीमा चट्याङको अवस्थाको अनुमान र क्षति रोक्ने कार्य प्राथमिकतामा नपर्दा जोखिम बढिरहेकाले विपद रोक्न प्रभावकारी उपाय अवलम्बन गर्न आवश्यक रहेको औल्याए ।

के हो चट्याङ, कसरी जोगिने ?
चट्याङ विद्युतीय करेन्ट हो । बादल आपसमा ठोक्किएर त्यसका अणुहरुबीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो । आकाशबाट जमीनमा खस्ने एक प्रकारको विद्युतीय शक्ति चट्याङ् हो । वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन चै चट्याङ् हो ।

चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठुलो विद्युतीय तापशक्ति पृथ्वीमा आउने हुँदा जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्ने क्षमता हुन्छ । रुख, टावर, अग्ला ठाउँहरुमा चट्याङ बढी पर्छ र यसलाई सजिलो बाटो दिनुपर्छ । सामान्यरुपमा कम्तीमा आठ एमएम रड कुनै भवनको छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने हो भने पनि घरलाई जोगाउन सकिने विज्ञहरु बताउँछन् ।

प्राकृतिक प्रकोप भएकाले चट्याङ रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाए भने खोज्न सकिन्छ । घर बाहिर भएमा वर्षातको बेलामा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन, कम्प्युटर बन्द गर्ने गर्नुपर्छ । चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर बस्नु उत्तम हुन्छ । पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन ।

सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्नुपर्छ । पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किनु उत्तम हुन्छ । ठूला रुख, विजुलीका तार, पोल तथा ट्रान्समिटरको तल बस्नु हुदैन । विजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्छ ।

Translate »