सल्यानमा साइबर अपराधका घटना बढ्दै

जेठ ४, सल्यान । पछिल्लो समय विश्वभर सूचना र प्रविधिको व्यापक विकास भइरहेको छ । नेपालले पनि त्यसलाई पछ्याइरहेको छ । सूचना र प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना पनि अत्याधिक वृद्धि हुँदै आइरहेको छ । जसले गर्दा समाजमा व्यक्तिगत एवं आर्थिक रुपमा क्षति पुग्दै आइरहेको छ ।

प्रविधिको आधुनिक विकासले मानिसलाई विभिन्न अपराध गर्न धेरै सजिलो बनाएको छ । वितेका केही वर्षहरुदेखि साइबर अपराधका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् ।

साइबर अपराध सम्बन्धी घटनाहरुलाई न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय सल्यानले साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । साइबर अपराधका घटनाबाट जोगिन अपनाउनुपर्ने तरिका, त्यसका फाइदा तथा बेफाइदा, र कानुनी प्रावधानका बारेमा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रबिधिको दुरुपयोगबाट नै साईबर अपराधका घट्ना घट्न सक्ने भएकोले त्यस प्रकारका घट्नाबाट जोगिन अपनाउनुपर्ने तरिका, त्यसका फाईदा र बेफाईदा, सेक्युरिटि फिचर्स, नेपाल प्रहरीसम्म आईपुग्ने समस्याहरु र कानुनी प्रावधानहरुका बारेमा जानकारी गराई त्यस प्रकारका गतिबिधीमा संलग्नता नहुने र नगर्ने बारेमा विद्यार्थीहरुलाई जानकारी गराउने गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए । समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम संचालन गर्दै आइरहेको उनको भनाई छ ।

चालु आर्थिक वर्षको हालसम्म सात वटा साइबर अपराध सम्बन्धीका निवेदन परेको खनालको भनाई छ । उनले भने, “साइबर सम्बन्धी मुद्दा जिल्लाबाट समाधान नहुने भएता पनि त्यस प्रकारका निवेदन दिनेको संंख्या बढ्दै गएको छ ।

जिल्लाका अधिकांस विद्यालयमा पुगेर साइबर अपराध, महिला हिंसा, लंगिक हिंसा, जातीय विभदे लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिने गरेको खनालको भनाई छ ।

सामाजिक सन्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर र ह्वाट्सएपमा अन्य व्यक्तिको नाम तथा तस्विर प्रयोग गरेर नक्कलि प्रोफाईल खोल्ने र अस्लिल हर्कत गरेर बेइज्जत गर्ने तथा दुःख दिने पिडितहरुले बताउने गरेको प्रहरीको भनाई छ ।

सामाजिक सञ्जालमा विभिन्न किसिमका नग्न तस्विरहरुमा अरुको टाउको जोड्ने तथा आफन्तहरुलाई पठाउने, आपसी सहमतिमा लिएका गोप्य तस्विर तथा भिडियोहरु सामाजिक सन्जालमा राख्ने वा मेसेन्जरमा पठाउने, सामाजिक सन्जालमार्फत धम्कीपुर्ण सन्देश पठाउने, आर्थिक लेनदेनमा बार्गेनिंग गर्ने, समाजलाई खलल पुर्याउने खालका समाचार संप्रेशण गर्ने, ईमेलमार्फत लटरी परेको भनी ठगी गर्ने, सरकारी तथा अन्य संघ–संस्थाहरुको वेवसाईट ह्याक गर्ने र अनलाईन बैंकिंगमा अनअथोराईज्ड एक्सिस गर्ने जस्ता साईबर अपराधहरु हाल नेपालमा हुने गरेका छन् । रेडियो नेपाल

Translate »