डिजेल र मट्टीतेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०-१० रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।
भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको हो ।
नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ । डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ । मट्टीतेल पनि १ सय ५५ रुपैयाँ पर्ने निगमले जनाएको छ । पेट्रोलको मूल्य यथावत राख्दा प्रतिलिटर १७५ रुपैयाँ नै पर्ने भएको छ ।