तम्बाकुजन्य सेवनबाट जोगिऔं !

भनिन्छ नी ! ‘ज्यान बचें लाख उपाय ।’ चुरोट सेवन या गुट्खा खैनी, यी मध्ये कुनै पनि पदार्थ सेवन गर्ने तपाईको बानी छ ? छ भने आजैदेखि त्यागि हाल्नुहोस् । यी पदार्थ लामो समय सेवन गरे विभिन्न रोगहरु लाग्छन् र तपाईको ज्यानै जान सक्छ । नेपालमा प्रतिवर्ष करिब २५ हजार मानिसको धूमपानका कारण मृत्यु हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा सुर्तिजन्य पदार्थको प्रयोगबाट प्रतिवर्ष २७ हजार मानिसको अकालमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । चिकित्सकका अनुसार सुर्तीजन्य पदार्थको सेवनले मुख तथा फोक्सोको क्यान्सर, मुटुरोग, दम, नसाको रोग, श्वास नलीको संक्रमण र क्षयरोगजस्ता घातक रोग लाग्छन् । यी रोग बढ्दै गएपछि मानिसको मृत्युसमेत हुने गरेको छ । तम्बाकुजन्य पदार्थले धन, स्वास्थ्य र परिवारमा असर गर्नुका साथै जीवनभर कमाएको पैसा धूमपानमार्फत लागेको रोग उपचारमा सकिने गरेको छ । उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु अति उत्तम हो । यो भनाइलाई सार्थक तुल्याउने हो भने सरकार, जनता, स्वास्थ्यकर्मी सबै जागरुक हुनैपर्छ । समाजका प्रतिष्ठित व्यक्तिहरुले नमुनालायक रुपमा अभियान चलाउने, स्वास्थ्यकर्मीले त्यसलाई आफ्नोतर्फबाट साथ दिने र सरकारले आर्थिकलगायतका उपयुक्त वातावरण बनाइदिएर सघाउने हो भने मात्र सुर्तीजन्य पदार्थका कारण सिर्जना हुने घातक रोगहरुबाट मुलुकले उन्मुक्ति पाउँन सक्छ ।

हैन भने सरकार बजेट खन्याइरहने, सर्वसाधारण यस्तै पदार्थको लतमा डुबिरहने अवस्था कायमै रहन्छ । जसका कारण न राष्ट्रिय ढुकुटी बच्छ न त सेवनकर्ताको ज्यान नै । त्यसैले यस्तो अवस्था सिर्जना नहोस् भन्नका लागि सबैले आआफ्नो ठाउँबाट हातेमालो गर्नु आवश्यक छ । सुर्ती खाएर फुर्ती लाउने परिस्थितिको अन्त्य हुनै पर्छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा कर बढाउने तयारी गरेको छ । विगत वर्षको तुलनामा स्वास्थ्य क्षेत्रको बजेट ४० प्रतिशतले घट्ने आकलन गरिँरहँदा अर्कोतर्फ सुर्तीजन्य पदार्थमा बढाइने करले त्यसमा केही थप गर्न सकिने सम्भावना देखिन्छ । नेपालमा एक वर्षमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट आयात हुने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा मात्र विभिन्न देशबाट नेपालमा ३ अर्ब ६९ करोड २७ लाख ८९ हजार रुपैयाँको सुर्ती र सुर्तीजन्य पदार्थ भित्रिएको थियो । त्यसमा सुर्ती मात्र २ अर्ब ९८ करोड ४१ लाख ६५ हजार रुपैयाँको नेपाल भित्रिएको थियो भने ३ करोड ८८ लाख ३८ हजार रुपैयाँको विभिन्न विदेशी चुरोट भित्रिएको भन्सार विभागको भनाइ छ । पछिल्लो समय नेपालमा हुक्काको पारखीहरु पनि बढ्दै गएपछि गत वर्ष ८ करोड ७८ लाख १४ हजार रुपैयाँको ‘हुक्का फ्लेवर’ भित्रिएको छ । विभागका अनुसार भारत, चीन, हङकङ, ताइवान, कम्बोडिया, जर्मनी, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, सर्विया, युनाइटेड अरब इमिरेट्स, जोर्डन, अमेरिका, मलेसिया लगायतका देशबाट नेपालमा चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ नेपाल आउने गरेको छ ।

खासमा सुर्ती र सुर्तीजन्य पदार्थले मानव शरीरलाई हानिसिवाय केही गर्दैन तर पनि अशिक्षा, चेतना तथा ज्ञान अभावले आफ्नै स्वास्थ्यलाई हानि पु¥याउने यस्ता पदार्थ पनि हामीले प्रिय मानेर सेवन गरिरहेका छौं । सुर्तीजन्य पदार्थले लत वा नशा लगाउँछ । त्यसैले यो एकप्रकारका लागु पदार्थ नै हो भन्न सकिन्छ । यस्तो पदार्थ सेवनकर्ता मध्ये धेरैलाई यो जानकारी पनि छ तर पनि लत लागेकै कारण उनीहरु यसबाट मुक्ति पाउन सकिरहेका छैनन् । सरकारले प्रत्येक वर्षको बजेट भाषणमा सुर्तीजन्य पदार्थको कर केही न केही बढाएकै हुन्छ । यसो गर्दा नागरिकले यस्ता पदार्थ कम प्रयोग गर्छन् भन्ने सोचिन्छ । तर विडम्बना, यसरी बर्सेनि कर बढाइँदा पनि उपयोग भने दिनानुदिन वृद्धि भइरहेको छ । विकसित मुलुकले यस्ता पदार्थमा ७० प्रतिशतसम्म कर लगाइरहेका सन्दर्भमा नेपालले लगाएको कर निकै कम मानिन्छ । यसरी हेर्दा सुर्तीजन्य पदार्थमा कर बढाउनु उपयुक्त नै हुन्छ । तर यसरी कर बढाइँदा पनि उपभोग भने नघट्नुको कारणबारे चाहिँ सोच्न आवश्यक देखिन्छ । सुर्तीजन्य पदार्थमा कर बढाउन सरकार सफल भएपनि त्यसको उपयोगमा भने चाहे जति न्यूनीकरण गर्न सकेको छैन् । त्यसैले जति बजेट खन्याए पनि त्यो बालुवामा पानी हुने स्थितिबाट माथि उठ्न सक्नु पर्छ ।

Translate »