सुर्तीको फुर्ती नलगाएरै छाड्नुस् है !
भनिन्छ ! उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु अति उत्तम हो । यो भनाइलाई सार्थक तुल्याउने हो भने सरकार, जनता, स्वास्थ्यकर्मी सबै जागरुक हुनैपर्छ ।
हैन भने सरकार बजेट खन्याइरहने, सर्वसाधारण यस्तै पदार्थको लतमा डुबिरहने अवस्था कायमै रहन्छ । जसका कारण न राष्ट्रिय ढुकुटी बच्छ न त सेवनकर्ताको ज्यान नै । त्यसैले यस्तो अवस्था सिर्जना नहोस् भन्नका लागि सबैले आआफ्नो ठाउँबाट हातेमालो गर्नु आवश्यक छ । सुर्ती खाएर फुर्ती लाउने परिस्थितिको अन्त्य हुनै पर्छ।
बायाँ हत्केलामा दायाँ हातको बुढीऔंला नाच्दै छ, सुकेको सुर्तीको पातसँग सेतो चुना राम्ररी मिलाउन । मोल्दै गएपछि चुना र सुर्तीको धूलो पनि निस्किन्छ । धूलो चपाइँदैन ।
दाहिने हातको चार औंलाले मोलिएको सुर्तीमाथि प्याटप्याट हानेपछि धूलो उडेर जान्छ । राम्ररी मिसिएको सुर्ती मात्र बाँकी हुन्छ । उडेको खारयुक्त धूलोले कसैको नाकलाई सन्काइदियो भने छ्युँ गर्ने जिम्मा उसैको ।
मोलिसकेको सुर्तीको फुर्ती बेग्लै हुन्छ । बडो मिहिनेतका साथ तयार भएको सुर्ती साथीहरूलाई पनि बाँडिन्छ । साथीहरूले बुढीऔंला र चोरऔंलाले एक–एक चिम्टी सुर्ती लिन्छन् वा आफैंले एक–एक चिम्टी बाँडेर दिइन्छ । त्यसलाई तल्लो ओठ र गिजाबीचमा थप्पक्क घुसाइँछ । कसै–कसैले स्टाइल गरेर माथिल्लो ओठ र गिजाको बीचमा च्याप्छन् । भर्खरभर्खर खान सुरु गर्नेलाई यो स्टाइल मन पर्छ होला । रस आउँदै गरेपछि पिच्चपिच्च थुक्न रमाइलो मान्छन् । सुर्ती मोलेर खाने तरिका बानी भएका साथीहरूमा रमाइलो मानिन्छ । नखाने मान्छे पनि यही सुर्तीले मित्र बन्ने गर्छन् । खान मन नपर्नेलाई पनि केही करकाप परेपछि खान सुरु गर्ने सम्भावना बढ्छ ।
सुर्ती खाने बानी लागेपछि जहाँ पनि खान मन लाग्न सक्छ । हाम्रो समाजमा साधारण रूपमा लिइने भएको हुनाले धेरैलाई यसको मतलब नभएको हुन सक्छ । तर, मन नपर्ने मान्छे पनि वरिपरि भयो भने त्यति राम्रो मानिदैन । कुरा गर्दागर्दै बीचबीचमा प्याच्च थुक्दा असभ्य देखिन्छ । बानी लागेको मान्छेले जस्तै बेला पनि खाइराखेको देख्छौं ।
जस्तै– कपाल काट्नेले कपाल काट्न सुरु गर्नुअगाडि वा काट्दा काट्दै पनि साथीले तयार गरेको छ भने बीचमै पनि एक चिम्टी लिएर ओठभित्र घुसाइहाल्छन् । जुठो हात टकटक्याएर फेरि अर्काको टाउकामा कैंची चलाउँदा कस्तो होला ? होटलमा चिया–खाजा ग्राहकलाई दिनुभन्दा पहिला सुर्ती घुसाएर त्यही हातले रिकापी समाएर आउँदा कस्तो होला ? बस कन्डक्टरले सुर्ती घुसाएकै हातले गन्दै फिर्ता पैसा हातमा दिंदा कस्तो होला ? पसले साहुजीले सुर्ती घुसाएकै हातले चिनी जोखिदिँदा कस्तो होला ?
कस्तो–कस्तो बेलासम्म खान्छन् भने, मोटरसाइकल पछाडि बस्नेले हुइँकिएकै बेला बनाउँदै आफैं पनि खाने, अगाडि हाँक्ने साथीलाई पनि ख्वाउने, जाँच दिइराखेको बेला खाने, कारखानामा काम गरिराख्दा हात कालै छ भने पनि लिएर खाने, बिरामी हेर्दै छ भने सुटुक्क भित्र गएर च्यापेर आइहाल्ने, चालकले स्टेयरिङ छाडेर भए पनि हात थापिहाल्ने ! यति धेरै रमाइला र लत लाग्ने सुर्ती हाम्रो शरीरका लागि भने हानिकारक छ । यसबारे ज्ञान भएर पनि बानी परिसकेकाहरू छाड्न सक्दैनन् । यसले मुखको क्यान्सर निम्त्याउँछ । यसले मुटु, फोक्सोलगायत शरीरका विभिन्न अंगमा थुप्रै नराम्रा असर गर्छ ।
सुर्तीले अरूलाई पनि त्यति राम्रो गर्दैन । रमाइलो भए पनि, रमाइलो देखिए पनि, लत लागे पनि, करकापमा परे पनि यो खाने चीजचाहिं होइन । नखानेले खाँदै खाँदैन । खानेले एकपल्ट छाडेर हेर्नोस् त कति खुसी हुन्छन् तपाईका अंगहरू ? तलतल लागे पनि छाड्नुभयो भने अंगहरू स्वस्थ हुन्छन् । तपाईका परिवार– छोराछोरी, श्रीमती, बुबाआमा सबै जना अति खुसी हुन्छन् । थोरै भए पनि पैसा बच्छ । वर्ष दिनसम्ममा पैसा पनि निकै जोगिन्छ, सायद छोराछोरीको स्कुलको फी तिर्न पुग्छ ।
उसो पनि सरकारले प्रत्येक वर्षको बजेट भाषणमा सुर्तीजन्य पदार्थको कर केही न केही बढाएकै हुन्छ । यसो गर्दा नागरिकले यस्ता पदार्थ कम प्रयोग गर्छन् भन्ने सोचिन्छ। तर विडम्बना, यसरी बर्सेनि कर बढाइँदा पनि उपयोग भने दिनानुदिन वृद्धि भइरहेको छ । विकसित मुलुकले यस्ता पदार्थमा ७० प्रतिशतसम्म कर लगाइरहेका सन्दर्भमा नेपालले लगाएको कर निकै कम मानिन्छ । यसरी हेर्दा सुर्तीजन्य पदार्थमा कर बढाउनु उपयुक्त नै हुन्छ। तर यसरी कर बढाइँदा पनि उपभोग भने नघट्नुको कारणबारे चाहिँ सोच्न आवश्यक छ ।
खासमा सुर्ती र सुर्तीजन्य पदार्थले मानव शरीरलाई हानिसिवाय केही गर्दैन तर पनि अशिक्षा, चेतना तथा ज्ञान अभावले आफ्नै स्वास्थ्यलाई हानि पुर्याउने यस्ता पदार्थ पनि हामीले प्रिय मानेर सेवन गरिरहेका छौं । सुर्तीजन्य पदार्थले लत वा नशा लगाउँछ । त्यसैले यो एकप्रकारका लागु पदार्थ नै हो भन्न सकिन्छ । यस्तो पदार्थ सेवनकर्तामध्ये धेरैलाई यो जानकारी पनि छ तर पनि लत लागेकै कारण उनीहरू यसबाट मुक्ति पाउन सकिरहेका छैनन् ।
नेपालको स्वास्थ्य क्षेत्रमा अहिले केही भएपनि प्रगति देखिएको छ । खासगरी नसर्ने रोगहरूको उपचारमा देखिएको स्तरीयता र प्रगतिका कारण मानिस बढी बाँच्ने भएका छन् । सर्ने रोगमा पनि विगतको तुलनमा केही प्रगति अवश्य भएको छ । तर एकातिर यसरी रोग नियन्त्रण र उपचारमा भएको प्रगतिका कारण केही मानिसले दीर्घ जीवन प्राप्त गर्ने अर्कोतिर सुर्तीजन्य पदार्थहरू सेवनका कारण आयु छोट्टिनुले ‘माथिबाट जति हाले पनि तलबाट चुहिरहने’ जस्तो अवस्था सिर्जना हुन पुगेको छ । त्यसैले यस्ता पदार्थको प्रयोग निमिट्यान्न नपारेसम्म स्वास्थ्य क्षेत्रको बजेट जति बढाए पनि केही हुनेवाला छैन ।
समाजका प्रतिष्ठित व्यक्तिहरूले नमुनालायक रूपमा अभियान चलाउने, स्वास्थ्यकर्मीले त्यसलाई आफ्नातर्फबाट साथ दिने र सरकारले आर्थिकलगायतका उपयुक्त वातावरण बनाइदिएर सघाउने हो भने मात्र सुर्तीजन्य पदार्थका कारण सिर्जना हुने घातक रोगहरूबाट मुलुकले उन्मुक्ति पाउँछ ।