दैलेख आगलागी : वनमा लागेको आगो निभाउने क्रममा ९ जना घाइते, ५ जनाको अवस्था गम्भीर

दैलेख । दैलेखको आठविस नगरपालिका–६, माल्या जङ्गलमा आगलागीमा परी ९ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ४ जनालाई हेलिकप्टरमार्फत कोहलपुरमा थप उपचारका लागि लगिएको छ ।

घाइते हुनेहरूमा आठविस नगरपालिका–६ का भैरे विक, प्रज विक, नवीन विक, नैना विकलाई हेलिकप्टरमार्फत उद्दार गरिएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए । यसैगरी, बसुन्धरा विकलाई समेत हेलिकप्टर मार्फत उद्दार कार्यको तयारी भएको लम्सालले बताए । अन्य घाइतेहरू मध्ये छत्रा बिक, जौकला बिक, मौती र मीन विकलाई स्थानीय राकम अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निर्माणका लागि गएका र वनमा आगो लागेपछि निभाउने प्रयास गर्दा उनीहरू घाइते भएको प्रारम्भिक अध्ययनबाट देखिएको छ । घटनाको थप विवरण सङ्कलन गर्ने काम प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जंगल नजिक काम गर्न गएका उनीहरु आगजनी नियन्त्रणका लागि जंगल पुगेका बेला आगो लागेर घाइते भएको स्थानीयको भनाइ छ ।

Translate »