कानून कार्यान्वयन पक्ष फितलो हुँदा उपेक्षित हुनु परेको जेष्ठ नागरिकको गुनासो

सुर्खेत । संविधानमै उल्लेखित अधिकारहरु कार्यान्वयन नहुँदा आफुहरु उपेक्षित हुनु परेको देशका अगुवा ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले संविधानमा ज्येष्ठ नागरिकलाई अपहेरित गर्नेलाई ५ लाख नगद जरिवानासहित ५ वर्ष कैद सजाय तोकेपनि त्यो कार्यान्वयन नहुँदा आफुहरुले समस्या भोग्नु परिरहेको बताए ।

उनले हाल देशभर ३० लाख ज्येष्ठ नागरिक रहेकोमा प्रति वर्ष १०.१५ प्रतिशतका दरले त्यो संख्यामा बृद्धि भईरहेको हुँदा समयमै बृद्धाबृद्धाहरुको उचित व्यवस्थापन गर्न नसकिए त्यसबाट ठूलो नोक्सानी व्यहोर्नु पर्ने जानकारी दिए ।

तीनै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट जेष्ठ नागरिकका लागि संविधानमै उल्लेखित कानून कार्यान्वयनमा जोड दिन आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष शारदा चन्दले तेजीले बद्लिँदो नेपाली समाज रुपान्तरण प्रक्रियाले अन्तरपुस्ता द्वन्द्वसँगै राज्यले उपलब्ध गराएका स्वास्थ्य वीमा, बैकिङ्ग सापटी, निःशुल्क औषधि जस्ता सेवा सुविधा लिन समेत ज्येष्ठ नागरिकलाई सास्ती व्यहोर्नु पर्ने अवस्था कायमै रहेको बताईन् ।

उनले स्थानीय तथा प्रदेश सरकारहरुले ज्येष्ठ नागरिकका लागि छुट्टाईएको बजेटलाई समेत अन्यत्र उपयोग गरि विभेदपूर्ण व्यवहारको साम्ना गर्न बाध्य पारिएको जनाईन् ।

कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य सुरेश श्रेष्ठले जीवनको महत्वपूर्ण ऊर्जाशील समय राष्ट्र, समाज, र परिवारलाई योगदान दिएका ज्येष्ठ नागरिकको ज्ञान, सिप अनुभवलाई राज्यले सदुपयोग गर्न नसकिरहेको दुःखेसो पोखे ।

उनले ज्येष्ठ नागरिक सम्बन्धि ऐन २०७९ (पहिलो संशोधन) अनुसार बनाउनु पर्ने नियमावली र ज्येष्ठ नागरिक राष्ट्रिय नीतिको निर्माण गर्नुपर्ने तड्कारो देखिएको जनाए ।

उनका अनुसार विद्यमान ऐन, कानून, नीति, नियम समयानुकुल नहुनुका साथै कार्यान्वयन तथा अनुगमन पक्ष फितलो भएकै कारणले ज्येष्ठ नागरिकहरु थप पीडित हुँदै गई रहेका छन् ।

प्रशान्ति बृद्धा आश्रम सुर्खेतका अध्यक्ष बालकृष्ण श्रेष्ठले ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएका देशभरका बृद्धाश्रमदेखि दिवा सेवालाई समेत आर्थिक अभावले चन्दादानबाट उठेको रकमले काम चलाउनु परिरहेको बताए ।

उनले राज्यबाट अभिभावकत्व नपाउँदा बृद्धबृद्धाहरुका लागि जीवनयापन चलाउन सकस मात्र होइन, थुप्रै चुनौतीहरुको साम्ना गर्नु परिहेको जनाए ।

यहीं बैशाख २५ गते महासंघको राष्ट्रिय सम्मेलन एवं नवौं अधिवेश (साधारण सभा) का लागि देशभरबाट करिब ४ सय प्रतिनिधि तथा पर्यवेक्षक सुर्खेत आईपुग्ने कार्यक्रम रहेको ज्येष्ठ नागरिक महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष डम्मरकुमारी आचार्यले बताईन् ।

Translate »