कर्णालीका आठ जिल्लामा राष्ट्रिय ग्रिड पुग्यो

असारसम्म मुगुमा बिजुली पुर्‍याउने प्राधिकरणको दाबी, हुम्लामा भने पुग्न बाँकी

काठमाडौं । कर्णालीका आठ जिल्लामा राष्ट्रिय ग्रिडको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले डोल्पालाई राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडेपछि १० मध्ये ८ जिल्लामा राष्ट्रिय ग्रिडको बिजुली पुगेको हो । अब कर्णालीको हुम्ला र मुगुमा ग्रिडको बिजुली पुग्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले रुकुम पश्चिमको मुसीकोट नगरपालिकास्थित मुसीकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण गरी बिजुली पुर्‍याएको छ । उक्त प्रसारण लाइनको परीक्षण सम्पन्न गरी बिहीबारबाट सञ्चालनमा ल्याइसकिएको छ । यसले सदरमुकाम दुनैलगायतका क्षेत्रमा विद्युत् आपूर्ति सुरु भएको प्राधिकरणले बताएको छ ।

मुगुमा आगामी असारभित्र ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको पनि प्राधिकरणको भनाइ छ । कर्णालीमा पर्ने जिल्लाको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्र पुग्छ, हुम्लाका लागि टेन्डर पूरा गरी निर्माण व्यवसायी छनोट भइसकेको छ, अब काम छिट्टै सुरु हुन्छ,’ घिसिङले भने, ‘डोल्पा सदरमुकाम र आसपासका क्षेत्रमा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति हुँदै आएकामा अब राष्ट्रिय ग्रिडमार्फत हुनेछ । जिल्लामा विद्युत् सेवा विस्तार गर्न विद्युतीकरणको काम पनि भइरहेको छ ।’

प्राधिकरणले डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने जिल्ला सदरमुकाम दुनै र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रमा दुई सय किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत् गृहमार्फत विद्युत् आपूर्ति दिइरहेको छ । डोल्पामा प्राधिकरणका करिब १ हजार ७ सय ग्राहक छन् । डोल्पाका अन्य क्षेत्रमा लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति भइरहेको छ ।

प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र युरोपेली लगानी बैंक (ईआईबी) बाट करिब २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गरिरहेको जनाएको छ । सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युत्को पहुँच विस्तार गरिरहेको घिसिङले जनाए ।

डोल्पाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन जाजरकोटको भेरी नगरपालिकास्थित कुदु सबस्टेसनबाट नलगाड नगरपालिकाको चौखाबजार हुँदै डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ ।

ठेकेदारले काम नगरेपछि उक्त ठेक्का रद्द गरी अहिले नयाँ ठेक्का सम्झौता गरी लाइन निर्माण भइरहेको प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए । चौखा र त्रिपुराकोटमा ३३/११ केभीका सबस्टेसन निर्माण हुनेछन् । लाइन र सबस्टेसन निर्माण करिब डेढ वर्षभित्रमा सम्पन्न हुने प्रमुख यादवले जनाए । ई–कान्तिपुर

Translate »