सल्यानमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

बैशाख ३, सल्यान । सल्यानमा माटोको ढिस्कोले पुरिदा घाइते भएका दुई युवकमध्ये एक जनाको मृत्यु भएको छ । सल्यानको बाग्चौर नगरपालिका २ ठिनबाङ्ग खोलामा बा २ क २४०० नम्बरको हमाल कन्ट्रक्सनको जेसीबीले तारजाली भर्ने खाडल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर आइतबार दिउँसो करिब ३ बजेतिर सडकमा काम गरिरहेका दुई मजदुर घाइते भएका थिए ।

घाइते भएकामध्ये बाग्चौर नगरपालिका १ धारापानी बस्ने १७ वर्षीय नवीन केसी र सोही स्थानका २५ वर्षीय राजन बस्नेतमध्ये केसीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले केसीको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उनलाई जिल्ला अस्पताल सल्यानका चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । जेसीबीले खाडल खन्ने क्रममा करिब ३ मिटर माथिबाट खसेको माटोको ढिस्कोले उनीहरूलाई पुरेको थियो । दुबै जनाको स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल लगिए पनि नवीन केसीको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते राजन बस्नेतको अहिले स्थानीय जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । घटनापछि जेसीबी चालक शारदा नगरपालिका १३ बस्ने २५ वर्षीय सुमन योगीलाई उनको जेसीबीसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Translate »