कर्णालीमा प्रांगारिक खेती
सुर्खेत । सरकारी अनुदानमा वितरण गरिने रासायनिक मल कर्णाली प्रदेशमा सबैभन्दा कम वितरण हुने गरेको छ । प्रांगारिक खाद्य वस्तुको संरक्षण, उत्पादन र विक्री वितरणलाई प्रवर्द्धन गर्ने ऐनअनुरूप कर्णाली प्रदेशमा रासायनिक मल कम वितरण गरिएको हो । जे जति कारणले भए पनि रासायनिक मलको कम प्रयोग हुँदा कर्णालीले कम्तीमा प्रांगारिक खेती गर्नसक्ने तथा क्यान्सरलगायत रोगमा कमी र पर्यापर्यटनको सम्भावनालाई जीवितै राखेको छ ।
नेपालमा जहाँ रासायनिक मलको बढी प्रयोग हुन्छ, त्यहाँ विषादीको पनि खपत बढी नै हुने गरेको छ । रासायनिक मल र विषादीको प्रयोग बढी हुने जिल्लाका बासिन्दा क्यान्सर रोगबाट बढी पीडित हुने गरेको तथ्यांक पाइन्छ ।
समाचार टिप्पणी
अहिले अवस्था यस्तो आएको छ कि रासायनिक मल नहाली खेतीबाली सप्रँदैन । रासायनिक मलको प्रयोगपछि नै संसारभरि खाद्यान्न उत्पादनमा निकै वृद्धि हुन थालेको हो । रासायनिक मलको प्रयोगले बढेको उत्पादनले मान्छेहरूको भोक घटाएको हो । रासायनिक मल खाद्यान्न उत्पादनका लागि महत्त्वपूर्ण त हो नै । त्यसैले यसको प्रयोगलाई कम गर्दा उत्पादनमा थोरै भए पनि असर पर्न सक्छ । तर, यसबाट मानवलाई पर्ने असर कम गर्न सक्दा पनि ठूलै उपलब्धि मान्नुपर्ने हुन्छ । नेपालका अन्य क्षेत्रमा तुरुन्तै रासायनिक मल र विषादी प्रयोगलाई हटाउने सम्भावना छैन तर कर्णालीमा भने अझै यस्तो सम्भावना छ । यसका लागि सरकारको पहिलो काम स्थानीय स्तरमा जनचेतना फैलाउनु हो ।
प्रांगारिक उत्पादनले मानव स्वास्थ्यमा पार्ने असरको बारेमा स्थानीयले बुझे र रासायनिक मल तथा विषादी प्रयोगमा कमी ल्याए भने त्यसबाट लाभ प्राप्त हुनेमा कुनै शंका छैन । पूरै कर्णाली प्रदेशमा प्रांगारिक उत्पादन गर्न सम्भव नभए पनि केही स्थानीय तहमा उत्पादन गर्न सम्भव देखिन्छ । त्यस्ता सम्भावना देखिएका स्थानीय तहको पहिचान गरी काम गर्न ढिला गर्नु हुँदैन । रासायनिक मल र विषादी प्रयोग नगर्दा उत्पादन केही घट्न सक्छ तर उत्पादन घटे पनि त्यस्ता क्षेत्रमा पर्यापर्यटनको विकास गरी आर्थिक लाभ लिन सकिन्छ । मानव स्वास्थ्यमा पर्ने असरको मूल्यांकन गर्ने हो भने त रासायनिक मल र विषादी प्रयोग नगर्दा बढी उपयुक्त हुन्छ । आर्थिक अभियान