मिशन ग्रासरुट अभियानपछि ‘मिशन फिप्टीवान परसेन्ट’ अभियान शुरु हुँदैछ : एमाले नेता बस्नेत

‘देशको समृद्धिका लागि युवाको रचनात्मक सहभागिता अपरिहार्य हुन्छ ।’

स्काई न्यूज /चैत ११, सुर्खेत । नेकपा एमालेका नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले देशको समृद्धिका लागि युवाहरुको रचनात्मक सहभागिता आवश्यक रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल सुर्खेतको आठौं जिल्ला अधिवेशनमा सहभागि हुन शनिबार सुर्खेतको वीरेन्द्रनगर आएका नेता बस्नेतले देशमा रहेका विकृति विसंगतिसँगै अद्योगतिलाई हटाउन युवाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गराउन आवश्यक रहेको जनाएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका नेता बस्नेतले युवाहरुको सहभागिता विना मुलुकको स्थिरता, विकास तथा समृद्धि नआउने भएकाले राजनीतिक दलहरुले युवालाई बढी भन्दा बढी समेट्न आग्रह गरे । उनले नयाँ पुस्ताका युवाहरुमा अनेकखालका अपेक्षा तथा आंकाक्षाहरु रहेकाले ती पुरा नहुँदा निरासा, विचलन, पलायन, विकृति विसंगतिसँगै विद्रोहतर्फ आकर्षित भईरहेकाले यसलाई रोक्न दलहरुले व्यापक अभियान सञ्चालन गर्न आवश्यक रहेको औल्याए ।

‘एमालेद्वारा सञ्चालित मिशन ग्रासरुट अभियानपछि ‘मिशन फिप्टीवान परसेन्ट’ अभियान सञ्चालन गर्न लागेका छौं,’ उनले भने, ‘पछिल्लो समय नेता तथा पार्टीलाई गाली गर्ने प्रवित्तिको विकास भईरहेका बेला दललाई सच्चिन र त्यस्तो प्रवत्ति अन्त्य गर्नका लागि ‘मिशन फिप्टीवान परसेन्ट’ अभियान सञ्चालन गर्नु परेको हो ।’

उनले देशमा स्थायी शान्ति तथा समृद्धिका लागि देशमा दुई दलिय व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे । हालको राजनीतिक अस्थिरता अन्त्य भई पाँच वर्षसम्म ढुक्कले कुनै एक दल सत्तामा र अर्को दल प्रतिपक्षमा बस्ने चलनको विकास हुन आवश्यक रहेको उनको भनाइ थियो ।

‘यो देशमा अब दुई पटक भन्दा बढी कुनैपनि व्यक्ति प्रधानमन्त्री बन्न नपाउने, चार पटक भन्दा बढी सांसद बन्न नपाउने अभ्यास गर्न सकेमात्र मुलुकका जेष्ठ भनिएका नेताहरु एकैचोटी रिटाएर हुने स्थिती आउने थियो,’ उनले भने, ‘त्यसबाट मुलुकको हित नै हुन्छ । प्रदेश सरकारहरु बोझिलो बनिरहेको गुनासो आईरहेका बेला स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखसहितको सहभागितामा प्रदेश सभा मार्फत निर्वाचित जनप्रतिनिधि बन्न सके त्यो स्थायी र सार्थक हुन सक्छ ।’

उनले वर्तमान सत्तागठबन्धनले भ्रष्ट्राचार, महँगी, कालाबजारी नियन्त्रण गर्दै सयमित तरिकाले अघि बढेमा नेकपा एमालेले रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर खबरदारी गर्ने जिकिर गरे ।

Translate »