पेन्सन पाउने उमेर बढाएको विरोधमा फ्रान्समा हिंस्रक प्रदर्शन, १० लाख मानिस सडकमा

चैत १०, काठमाडौं । बिहीवार फ्रान्सभर सडकमा १० लाख भन्दा धेरै मानिसहरु विरोध प्रदर्शनमा उत्रिए । प्रस्तावित पेन्सन सुधारको विरोधमा त्यति ठूलो संख्यामा मानिसहरु सडकमा आएका थिए । प्रदर्शनकारी र प्रहरीहरुबीच बिहीवार दिनभर झडप भइरह्यो । केही स्थानमा विरोध प्रदर्शन ह्रिसक नै बन्यो ।

आगजनी, धुँवा बम्ब फ्याक्ने गतिविधि प्रदर्शनकारीहरुले गरेका थिए । भौतिक समपत्तिमा क्षति पुर्याउने काम पनि भए । भीड नियन्त्रण गर्न प्रहरीले टियर ग्यास नै हान्नु पर्यो । दर्जनौं प्रदर्शनकारी समातिए भने सयभन्दा धेरै प्रहरीहरु घाइते भए ।

राष्ट्रपति इम्यानुएल म्याक्रोको सरकारले हाल ६२ वर्ष रहेको सेवा निवृत्तिको उमेर हद बढाएर ६४ वर्ष बनाउने प्रस्तावलाई गएको हप्ता संसदबाट पारित गरेको थियो । त्यसपछि देशभरमा विरोध प्रदर्शन बढेका छन् । बिहीवार देशव्यापी प्रदर्शन भएको नवौं दिन थियो ।

अर्को मंगलवार बेलायतका राजा चार्ल्सको फ्रान्स भ्रमणको समयमा फ्रान्सेली कर्मचारी संगठनहरुले ताजा प्रदर्शन र विरोधको आयोजना गर्ने भएका छन् । अधिकांश कामदारको सेवानिवृत्तिको उमेर बढाउने सरकारको योजना छ । विरोध प्रदर्शन जारी रहँदा आफ्नो योजनामा म्याक्रो सरकार टसको मस भएको छैन ।

सरकारलाई मतदान छल्ने अनुमति दिने संविधानको धारा चलाएर गएको हप्ता फ्रान्सेली नेशनल एसेम्बलीमार्फत विधेयक पारित गराइएको थियो । फ्रान्सको पेन्सन प्रणाली अन्यत्रको भन्दा अलि उदार छ । अनि छिटै सेवा निवृत्त हुन चाहनेले ५७ वर्षमै सेवा निवृत्ति लिन सक्छन् । तर नयाँ कानून अनुसार अधिकांश कर्मचारीहरुले सेवा निवृत्तिका लागि ६४ वर्षसम्म पर्खिनु पर्छ ।

तर यो पनि औद्योगिक देशहरुमध्ये सबैभन्दा कम नै हो । सन् २०३० देखि पेन्सन प्रणालीमा साढे १३ अर्ब यूरोको भार कम गर्न सरकारले नयाँ कानून ल्याएको हो । जनवरीमा यो प्रस्ताव सार्वजनिक गरिएको थियो । देशभरमा सुधार प्रस्तवाको विरोध भइरहँदा बुधवार फ्रान्सेली टिभी च्यानलमा म्याक्रोले एउटा अन्तरवार्तामा यो सुधार लागू गर्ने पुष्टि गरेपछि आम जनता झनै भड्किएका छन् ।

यो देशको सबैभन्दा ठूलो हित भएको अनि जनमत सर्वेक्षण र राष्ट्रिय हितमध्ये आफूले राष्ट्रिय हितलाई रोजेको म्याक्रोले सो अन्तरवार्तामा भनेका थिए । तर सरकारका आलोचक र म्याक्रोका विरोधीहरुले चाहिँ सरकारले आगोमा घ्यू थपेको बताइरहेका छन् । देशभरमा विरोध प्रदर्शन जारी रहँदा पेरिसमा मात्रै ९ हजार ५०० टन फोहोर थुप्रिसकेको छ । यही प्रस्तावका कारण सरकारविरुद्ध दुई ओटा अविश्वासको मत लगिएको थियो ।

तर दुई ओटै मत विफल भएको छ । सुधार योजना अन्तर्गत फ्रान्सको कानूनी रुपमा सेवानिवृत्तिको उमेर हरेक वर्ष तीनरतीन महीनाका दरले बढेर हालको ६२ बाट सन् २०३० सम्ममा ६४ वर्षमा पुर्याइनेछ । पूरा पेन्सन दाबीको योग्यताको शर्त बढाएर कम्तिमा ४३ वर्ष काम गरेको हुनु पर्ने बनाइनेछ । एजेन्सी

Translate »