निदाएको बेला पनि हुन सक्छ ‘हार्ट अट्याक’

बिहान ३ देखि ६ बजेसम्मको समयमा धेरैजसो मुटुरोगका बिरामीलाई हृदयघात हुने जोखिम उच्च हुन्छ । बिहानको समयमा हाम्रो शरीरमा तनाव हार्मोन र कर्टिसोल हर्मोनको स्तर बढी हुन्छ, जसले हृदयघात हुने सम्भावना अन्य समयमा भन्दा बढी हुन्छ ।

केहीमा चेत अवस्थामै हृदयघात हुन्छ भने कतिपयलाई सुतिरहेको अवस्थामा हृदयघात हुन सक्छ । जसलाई ‘साइलेन्ट हार्ट अट्याक’ भनिन्छ ।सामान्य व्यक्तिभन्दा उमेर बढी भएका र मधुमेहका बिरामीलाई ज्यादा साइलेन्ट हार्ट अट्याकको जोखिम बढी हुन्छ । नदुख्ने खालको हृदयघात हुँदा वरपर भएको व्यक्तिलाई थाहा हुँदैन र तत्काल मृत्युको जोखिम हुन सक्छ ।

सुत्नुअघि रक्तचाप बढेको, अत्यधिक तनाव, उच्च रक्तचाप र मधुमेहको औषधि छुटेको अवस्थामा पनि सुतेको अवस्थामा हृदयघात हुन सक्ने सम्भावना बढी हुन्छ । त्यस्तै, अत्यधिक मदिरा पिउँदा मुटुको चाल तीव्र बढाउनुका साथै अक्सिजनको माग बढी हुन्छ, जसकारण पनि हृदयघातको जोखिम बढी हुन्छ ।
हृदयघातअघि देखिने लक्षण

सुतिरहेको अवस्थामा हुने हृदयघातमा कुनै संकेत देखिंदैन । तर चेत अवस्थामा भने छातीमा भारीपन, छाती दुख्ने, देब्रे हात र पाखुरा दुख्ने, मुटुको धड्कन बढ्ने, उभिन गाह्रो हुने, चक्कर लाग्ने, एक्कासि कमजोर महसुस हुँदै मृत्युको भय हुने, एक्कासि पसिना आउने, वाकवाकी लाग्ने जस्ता विभिन्न लक्षण देखिन सक्छ । यी सबै लक्षण सबैमा नदेखिन पनि सक्छ ।

खासगरी कुन समयमा हृदयघात हुन सक्छ ?

बिहानको समयमा हृदयघातको जोखिम बढी हुन्छ । बिहानको समयमा तनावको हार्मोन बढी हुन्छ, जसले मुटुमा दवाब पर्न सक्ने कारणले बिहान बढी जोखिम हुन्छ । त्यसैले प्रेसर नाप्दा पनि राति र बिहान गरी २४ घण्टाको नै हेर्ने गरिन्छ । २४ घण्टाको रक्तचाप हेर्दा रातिको बढी र बिहानको पनि बढी छ भने हृदयघात हुने जोखिम हुन्छ । सामान्यतया राति प्रेसर कम हुनुपर्छ । यदि रातको प्रेसर घटिरहेको छैन भने बिहानपख हृदयघातको जोखिम बढी हुन्छ ।

शौचालयमा हृदयघातको जोखिम


बिहान उठ्दा पिसाब च्यापिरहेको हुन्छ । हतारिएर जुरुक्क उठ्ने बित्तिकै शौचालय जाँदा प्रेसर ड्रप हुन सक्छ, जसले कतिपयमा हृदयघातको जोखिम हुन सक्छ । त्यस्तै, शौचालय जाँदा दिसा गर्न बल लगाउँदा मुटुको धमनीमा थप दबाब हुन्छ । यसले हृदयघात वा ‘कार्डियक अरेस्ट’ हुन सक्छ ।

हृदयघात भएमा के गर्ने त ?

हृदयघातको कुनै निश्चित समय हुँदैन । जहाँ पनि जहिले पनि हृदयघात हुन सक्छ । त्यसैले यस्तो कुरामा पूर्व सचेतना जरुरी छ । दीर्घरोगीले एसप्रिन नामक औषधि बोकेर हिंड्नु उचित हुन्छ । यस्तो औषधि घरमा पनि किनेर राख्न सकिन्छ । उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका रोगीले यसमा धेरै सतर्कता अपनाउनुपर्छ । यदि छातीमा अचानक असहज भयो, भारीपन महसुस भयो र हृदयघातको शंका लाग्नासाथ यो औषधि चपाउनुपर्छ ।

हृदयघातको शंका लाग्नासाथ आराम गर्नुपर्छ । हृदयघात हुने समयमा शरीरले बढी नै अक्सिजन माग गर्छ । त्यसैले शरीरलाई अक्सिजन बढी चाहिने भएकाले काम नगरी शान्त भएर बस्नुपर्छ ।

मुटुलाई स्वस्थ राख्ने उपाय

दीर्घरोग पनि मुटुरोगको जोखिमको कारक मानिन्छ, त्यसैले दीर्घरोग भएकाले यसको नियन्त्रण गर्दा मुटुरोगको जोखिम कम हुन्छ । त्यस्तै, नुन अत्यधिक र चिल्लो नखाने, दैनिक व्यायाम, तनाव व्यवस्थापन नगर्ने, मोटोपन हुन नदिने, कुनै काममा हतार नगर्ने, धुम्रपान र मद्यपान नगर्ने जस्ता जीवनशैली अपनाएको खण्डमा मुटुलाई स्वस्थ राख्न सकिन्छ ।

(डा. लम्साल वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । उनी ओम अस्पतालमा कार्यरत छन् ।) अनलाइन खबर

Translate »