तनावले शरीरका कुन-कुन अंगमा हानि गर्छ ?

तनाव सबैलाई छ । कसैलाई रोगको तनाव, कसैलाई ऋणको, कसैलाई बेरोजगारीको, कसैलाई कलहको । सानोतिनो कामको चापदेखि ठूला(ठूला नोक्सानीले मान्छेलाई तनावग्रस्त बनाइरहेको छ ।

मनोचिकित्सक भन्छन्- तनाव एक सामान्य अनुभूति हो । अर्थात् तनाव भनेको भावनात्मक स्थिति हो । यसलाई धेरैले मानसिक समस्यासँग जोडेर हेर्छन् । तर तनाव यस्तो विष हो, जसले शरीरको कुनैपनि भागमा क्षति पुर्‍याउँछ ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सक डा। सगुनबल्लभ पन्त भन्छन्, ‘तनाव मुख्य दुई प्रकारको हुन्छ । एउटा सकारात्मक तनाव र अर्को नकारात्मक तनाव ।’

तनावको विभिन्न कारणशरीरमा विभिन्न आन्तरिक तनाव हुन्छ । हाम्रो पाचन प्रणाली कस्तो छ, शरीरलाई आराम पुगेको छ कि छैन, शरीरमा पौष्टिक आहारको मात्रा पुगेको छ कि छैन, मुटुको चाल लगायत शारीरिक कारणले तनाव हुने पन्त बताउँछन् ।

उनी भन्छन्, ‘कहिलेकाहीं हामी अप्रत्यक्ष रूपमा पनि तनावमा हुन्छौं । बाल्यकालको नराम्रो अनुभूति जस्तै बुलिङ र शोषणको कुरा सम्झँदा पनि हाम्रो मस्तिष्कमा असर पर्छ र तनाव हुन सक्छ ।’

‘साथीभाइसँगको नराम्रो सम्बन्ध, आफूले चाहेको कुरा पूरा गर्न नसक्दा हुने हीनताबोध लगायतका कुरा भित्र गुम्सिएर बसिरहेको हुन्छ त्यो भित्री तनाव भयो,’ पन्त भन्छन्, ‘बाहिरी कारणमा कामको बोझ, पढाइको तनाव, सम्बन्धको तनाव र बेरोजगारीको तनाव हुन्छ ।’

मान्छे किन तनावग्रस्त भइरहन्छ ?
मान्छेलाई आघात पुर्‍याउने घटना लगातार भइरहन्छ । जस्तो, आर्थिक अवस्था कमजोर छ भने त्यो लामो समय चलिरहेको छ । कसैलाई सामाजिक रूपमा केही कुराको लाञ्छना लागेको छ त्यो पनि लामो समय चलिरहेको छ । यस्ता तनाव गराउने तत्त्व व्यवस्थापन नभएर लामो समय चलिरहन्छ भने मान्छे तनावग्रस्त भइरहने पन्त बताउँछन् ।

‘केही तनाव गराउने तत्त्व क्षणिक रूपमा व्यवस्थापन भएपनि त्यसले बेलाबेलामा तनावलाई जगाइदिने, बढाइदिने गर्छ । मानसिक समस्या एन्जाइटी, डिप्रेसन भएका व्यक्तिमा पनि तनाव लामो समयसम्म रहिरहन्छ,’ पन्त भन्छन् ।

तनाव व्यवस्थापन भयो तर कुनै घटनाले त्यो तनावलाई ब्युँझाएर फेरि समस्या बढाउन सक्ने पन्त बताउँछन् । ‘मानौं कसैलाई डेंगी भएर निको भयो तर एक हप्तापछि फेरि ज्वरो आयो भने पहिले डेंगी हुँदा गाह्रो भएको कुरा सम्झेर तनाव हुन थाल्छ, फेरि डेंगी भयो कि भनेर,’ उनी भन्छन् ।

मान्छे पूर्ण रूपमा तनावमुक्त रहन सक्छ ?
तनाव स्वतःस्फूर्त प्रक्रिया हो । सकारात्मक तनाव मान्छेको जीवनमा हुनु जरुरी छ । सकारात्मक तनावले कुनै पनि काम राम्ररी गर्न सहयोग गर्छ । तर तनावलाई समयमै व्यवस्थापन गर्न सकिएन वा तनावको मात्रा बढ्दै गयो भने त्यो नकारात्मक तनावमा परिणत हुने पन्त बताउँछन् ।

‘त्यो नकारात्मक तनावलाई व्यवस्थापन गर्न नसक्दा सोचाइ, भावना र व्यवहारमा असर गर्छ । त्यो नकारात्मक तनाव लामो समय रहिरह्यो भने दैनिक जीवन, सम्बन्ध र व्यवहार सबैमा असर गर्छ,’ उनी भन्छन् ।

तनाव लिंदा शरीरको हरेक अंगमा असर

तनाव लिंदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा शरीरको हरेक अंगमा असर गर्छ । जब हामी तनावमा हुन्छौं, हाम्रो मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थिले स्ट्रेस हर्मोन ‘कोर्टिसोल’ रासायनिक पदार्थको उत्पादनलाई बढाउँछ । कर्टिसोलले हाम्रो शरीरको सबै नियमित प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्ने पन्तले बताए । ‘यसले मुटुको चल, खाना पच्ने प्रक्रिया, सुगरको व्यवस्थापन र थाइराइडको व्यवस्थापनमा असर गर्छ,’ उनी भन्छन् ।

शारीरिक रोगमा तनाव कति जिम्मेवार ?

तनावले मानसिक र शारीरिक स्वास्थ्य समस्या निम्तिन्छ । यदि तनावलाई लामो समयसम्म नियन्त्रण गरिएन भने यसले डिप्रेसन जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्ने पन्त बताउँछन् ।

यसबाहेक दीर्घकालीन तनावले उच्च रक्तचाप, मुटुरोग, मधुमेह, मोटोपन, डिप्रेसन वा चिन्तासम्बन्धी विकार, छालासम्बन्धी समस्या र महिनावारीको समस्या पनि निम्त्याउन सक्ने उनी बताउँछन् ।

तनाव व्यवस्थापन गर्ने प्रभावकारी विधि

तनाव नै नहुने कुनै व्यक्ति हुँदैन । सुरुमा हुने सकारात्मक तनावले मानिसलाई उन्नत हुन धेरै उपलब्धि हासिल गर्न सहयोग गर्छ । तर त्यो तनाव एउटा बिन्दु भन्दा माथि पुग्छ त्यसले नकारात्मक असर गर्न थाल्छ । त्यसैले तनाव व्यवस्थापन गर्न जान्नैपर्ने पन्त सुझाउँछन् ।

– नियमित दिनचर्याले तनावलाई व्यवस्थापन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । एउटै समयमा उठ्ने, सही समयमा आफ्नो काम सकाउने र सही समयमा सुत्ने व्यक्तिलाई तनावले धेरै सताउन पाउँदैन ।

– दैनिक ७ देखि ८ घण्टा निदाउने व्यक्तिको तनाव व्यवस्थापन राम्ररी हुन्छ ।

– दैनिक आधादेखि एक घण्टा व्यायामले पनि तनाव व्यवस्थापन गर्न सहयोग गर्छ ।

– ध्यान मेडिटेसन गर्दा, परिवारसँग रमाइलो माहोलमा समय बिताउँछौ भने ‘कर्टिसोल’ स्ट्रेस हर्मोनको मात्रा कम हुन्छ र तनाव कम हुन्छ ।

– कस्तो व्यक्तिसँग संगत गर्छौं, सामाजिक रूपमा कति घुलमिल हुन्छौं र साथीभाइसँग आफ्नो कुरा कति सेयर गर्छौं । त्यसले पनि तनावलाई असर गर्छ । त्यसैले सकारात्मक व्यक्तिको संगत, मनको कुरा साथी तथा परिवारसँग सेयर गर्दा तनाव कम हुन्छ ।

– तनाव व्यवस्थापन गर्न धेरैले धुम्रपान, मद्यपानको सहारा लिन्छन् । तर यो तनाव व्यवस्थापन गर्ने प्रभावकारी उपाय होइन । यसले क्षणिक रूपमा मात्र तनाव व्यवस्थापन गर्छ दीर्घकालीन रूपमा झन् बढाउँछ । त्यसैले तनाव व्यवस्थापन गर्न यस्ता कुराबाट टाढा रहनुपर्छ ।

– अहिले मानिसहरू सामाजिक सञ्जालमा धेरै समय बिताउँछन् । त्यसमा तनाव दिने खालका घटना र समाचार सम्प्रेषण भइरहेको हुन्छ । त्यसले मनलाई निराश बनाएर तनाव बढाउँछ । त्यसैले सामाजिक सञ्जालको प्रयोग समयलाई पनि घटाउनुपर्छ ।

– ‘हामी जे खान्छौं त्यही हुन्छौं’ धेरै प्रशोधित गरिएको खानेकुरा, जंकफुड शरीरलाई बोझ हुन्छन् । त्यसैले यस्ता प्रशोधित खानाको साटो पोषणयुक्त तथा स्वस्थकर खाना खानुपर्छ जसले शरीरलाई बोझ हुँदैन र तनाव पनि कम हुन्छ ।

– यी विधि अपनाउँदा पनि तनाव व्यवस्थापन भएन भने विशेषज्ञ डाक्टरको सहयोग लिनुपर्छ । अनलाइन खबर

Translate »