झन्झन् चर्किंदै बेरोजगारी समस्या

काठमाडौं । मुलुकमा बेरोजगारीको समस्या पछिल्लो समय झन्झन् चर्किंदै गएको ‘जब प्लेसमेन्ट’ गरिरहेका कम्पनीहरूले बताएका छन् । विभिन्न संस्था एवं कम्पनीबाट कर्मचारीको माग संकलन गरी आकांक्षीहरूलाई रोजगारी उपलब्ध गराउने त्यस्ता कम्पनीहरूले आर्थिक संकटका कारण नयाँ जनशक्तिको माग निकै घटेको जानकारी दिए ।

लामो समयदेखि यो क्षेत्रमा काम गरिरहेको कुमारी जबले विगतको तुलनामा माग ४० देखि ६० प्रतिशतले घटेको दाबी गर्‍यो । कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले राजेगारदाताले बेहोरिरहेको आर्थिक समस्याले कर्मचारीको माग निकै कम आइरहेको बताए ।

प्रबन्ध निर्देशक भण्डारीले आर्थिक अभियानसँग भने, ‘हाम्रा नियमित ग्राहकले व्यवसाय सुस्ताएको छ यस्तोमा कर्मचारी थपेर के गर्ने भनिरहेका छन् । आर्थिक भार कम गर्न कतिपय रोजगारदाताले भएका कर्मचारी पनि कटौती गरिरहेको स्थिति छ ।’

हरेक दिन ५ सयदेखि ८ सयले कुमारी जबको वेबसाइटमार्फत आवेदन दिने गरेकोमा मुश्किलले १५ देखि २० जनाले मात्रै काम पाइरहेको भण्डारीको भनाइ छ ।

जब प्लेसमेन्टकै क्षेत्रमा सक्रिय फ्रोक्स जब पनि कम्पनीहरूले नयाँ कर्मचारीको माग घटाएको बताउँछ । फ्रोक्स जबका प्रबन्ध निर्देशक विमल कँडेलका अनुसार अहिले सबैभन्दा कम माग अटोमाबाइल्स क्षेत्रमा छ । ‘स्टील, सिमेन्ट र पेन्टमा पनि माग घटेको अवस्था छ,’ उनले भने । कोरोना महामारीको लगत्तै पछि एक समय कर्मचारीको माग ह्वात्तै बढे पनि त्यसपछि निरन्तर घटिरहेको उनको भनाइ छ ।

जब प्लेसमेन्ट कम्पनीहरूका अनुसार रोजगारदाताले तल्ला तहका कामदार तथा कर्मचारीको माग गरिरहे पनि मध्यम र उच्च तहका कर्मचारीको माग नगन्य छ ।

यो परिदृश्यविपरीत सूचनाप्रविधि (आईटी) क्षेत्रमा कर्मचारी खोज्ने कम्पनीहरू चाहिँ आफूहरूले जनशक्ति अभावको सामना गरिरहेको बताउँछन् । मागेजस्तो जनशक्ति पाउनै सकस परिरहेको आईटी क्षेत्रमा संलग्न नेको जबका प्रबन्ध निर्देशक जयदेव कलौनीले बताए ।

‘आईटी क्षेत्रमा नेपालमा जनशक्ति माग धेरै छ । कोरोना रोक्ने उद्देश्यको बन्दाबन्दीपछि यो माग तीव्र अनुपातमा बढेको हो । तर, हामीसँग दक्ष जनशक्तिको अभाव छ,’ उनले भने ।

कलौनीका अनुसार नेपालमा भएका आईटीका दक्ष जनशक्ति या त विदेश जान्छन् या यहीँ बसेर विदेशी कम्पनीका लागि काम गर्छन् । नेपालमा रोजगारी खोज्दै आवेदन दिनेहरू अधिकांशसँग विश्वविद्यालयको डिग्री भए पनि व्यावहारिक ज्ञानको अभाव हुने गरेको उनको भनाइ छ ।

सरकारी तथ्यांकअनुसार नेपालको श्रमबजारमा प्रत्येक वर्ष करीब ५ लाख जनशक्ति प्रवेश गर्छ । तर, निजीक्षेत्रले वार्षिक कति रोजगारी सृजना गर्छ, त्यसको तथ्यांक न निजीक्षेत्रसँग छ न सरकारी निकायसँग नै । यसबारे राष्ट्रिय योजना आयोगसँग बुभ्mन खोज्दा आयोगका सदस्य रामकुमार फुयालले यस्तो तथ्यांक आवश्यक भए पनि अहिलेसम्म सरकारले तयार नगरेको बताए ।

रोजगारी खोज्दै हिँडेको जनशक्तिमध्ये कतिपयसँग उच्च शिक्षाको अभाव हुने गरेको छ भने कतिपयसँग सैद्धान्तिक ज्ञान भए पनि कार्यक्षेत्रमा उत्रिँदा काम गर्न सक्ने क्षमता हुँदैन ।

कोरोना महामारी र रूस–युक्रेन तनावपछि धेरैले रोजगारी गुमाएका छन् । देशमा उद्योगधन्दाको विकास अत्यन्त न्यून मात्रामा रहेको, भएकाहरू पनि कर्जाको चर्को ब्याजदर र तरलता समस्याले बन्द भइरहेको अवस्था छ । यस्तोमा यी सबैको गन्तव्य भारत वा विदेश हुने गर्छ ।

रोजगारीका लागि विदेशिनेको संख्याले पनि मुलुकमा रोजगारी पाउन गाह्रो रहेको संकेत गर्छ । गत साउनदेखि माघसम्ममा ३ लाख १४ हजारभन्दा बढी युवायुवती श्रमस्वीकृति लिएर विदेशिएको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । यसको अर्थ दैनिक १५ सय हाराहारी श्रमशक्ति पहिलोपटक श्रमस्वीकृति लिएर विदेश गइरहेको छ । यसै अवधिमा १ लाख ६७ हजारभन्दा बढी नेपाली पुन: श्रमस्वीकृति लिएर विदेशिएका छन् । बिदामा आएका श्रमिक पुन: विदेश फर्किनुपर्दा पुन: श्रमस्वीकृति लिनुपर्छ । आर्थिक अभियान

Translate »