सुर्खेतमा पनि भव्यरुपले मनाईयो विश्व उपभोक्ता अधिकार दिवस

स्काई न्यूज /चैत १, सुर्खेत । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । ‘स्वच्छ ऊर्जा मार्फत उपभोक्ता सशक्तिकरण’ भन्ने नारासहित विश्व उपभोक्ता अधिकार दिवस सुर्खेतमा भव्यरुपले मनाईएको छ । राष्ट्रिय उपभोक्ता मञ्च र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले आयोजनामा सचेतना मुलक प्लेकार्ड, व्यानरकासाथ निकालिएको ¥याली स्थानीय मंगलगढी चोकदेखि वीरेन्द्रचोक पुगेर कोणसभा गरि मनाईएको हो ।

कोणसभामा सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले नागरिकलाई दैनिक उपभोग्य वस्तु तथा सेवा लिँदा विभिन्न किसिमका ठगिनबाट बच्न उपभोक्ता नै बढी चनाखो हुनुपर्ने बताए । उनले उपभोक्तालाई कमसल, गुणस्तर, अखाद्य वस्तु विक्री वितरण गर्ने व्यवसायी तथा सेवा प्रदायकलाई कानूनी कार्वाही गर्ने अधिकार भएपनि उजुरी न्यून आउने गरेको जनाए ।

राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले दिनप्रतिदिन बढ्दो महँगी र अनियन्त्रित बजारलाई नियमन गर्ने निकायले प्रभावकारी काम नगर्दा उपभोक्ता ठगिने क्रम नरोकिएको बताए । उनले उपभोक्ताको हक, हित र अधिकार सुनिश्चित गर्न तीनै तहका सरकारले व्यापक रुपमा सचेतना कार्यक्रम फैलाउन आवश्यक रहेको औल्याए । बजारमा एउटै सामानको मूल्य पसलैपिच्छे फरक–फरक हुँदा एउटै सामानको तीन थरी मूल्य तिर्न उपभोक्ता बाध्य पारिनु ठिक नभएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत अध्यक्ष ललित बसेलले उपभोक्ताको हक, हित र अधिकार सुनिश्चित गराउने कार्यमा बजार नियमनकारी निकायसँग महासंघ सहकार्य गर्न प्रतिबद्ध रहेको जिकिर गरे । सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश बस्नेतले बजार अस्वथ्य बनाउने कार्यका लागि उद्योगी, व्यवसायी मात्र दोषी नभई निकामनकारी निकायले समेत आफ्नो जिम्मेवारी पुरा नगर्दा बेलाबखत समस्या आउने गरेको बताए । उपभोक्ताको अधिकारप्रति उद्योगी व्यापारी सचेत रहेको बताउँदै उनले व्यापार व्यवसायलाई मर्यादित तथा जिम्मेवार बनाउने कार्यमा सुउवासंघ निरन्तर लागि रहेको जनाए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक माधवप्रसाद न्यौपाने उद्योग, व्यवसायीलाई उपभोक्तामैत्री बनाउँदै बजार निमयन तथा सचेतना अभियानमा निरन्तर जुटिरहेको बताए । उनले विश्व उपभोक्ता अधिकार दिवसलाई सार्थक बनाउन सबै तह र तप्का खासगरी आम नागरिक बढी सचेत हुन आवश्यक रहेको औल्याए । कोणसभालाई सहजीकरण गरिहनु भएका उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका बजार अनुगमन प्रमुख प्रयागराज शर्माले उपभोक्ता अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकको रुपमा राखिएकाले कार्यान्वयनका लाग सबै पक्ष जुट्न आवश्यक रहेको जनाए ।

 

Translate »