नागरिकको दैनिकीसँग जोडिएका सेवाप्रवाहमा कमी नगर्न गृह सचिव सिंहको निर्देशन

स्काई न्यूज /फागुन ३०, सुर्खेत ।  गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन तथा निरीक्षण गर्दै मंगलबार वीरेन्द्रनगरमा गृह सचिव सिंहले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुने गरि छिटोछरितो, कम खर्चिलो र सर्वसुलभ सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

‘भवन ठूलो भएर मात्रै पुग्दैन् । त्यहाँ चाहिने आवश्यक पंखा, टेबुल, बेन्च, पानीलगायत सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि आवश्यक आधारभूत सेवाहरु समेत उपलब्ध हुनु पर्छ,’ उनले भने, ‘देशैभरी जिल्ला प्रशासन कार्यालयका नवनिर्मित भवनहरुको आकारहरु एउटै प्रकृतिबाट बनिरहेकाले थप आवश्यक पूर्वाधारको कमी देखिन्छ ।’

उनले राज्यबाट नागरिकका लागि थप हुने सेवा सुविधालाई सेवाग्राही मैत्री बनाउन स्थानीय तथा प्रदेश सरकार, नागरिक समाज तथा दाताहरुबाट समेत स्वैच्छिक सहयोग लिन सकिने जिकिर गरे । पूर्वाधार विकासले सेवा प्रवाहमा सहजता आउने भएकाले नयाँ भवनबाट सेवा लिने र दिने दुबैलाई सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

सेवाको गुणस्तर कायम राख्दै सर्वसुलभ, पारदर्शी, समावेशी र चुस्त प्रशासन बनाउन नागरिकसँग हातेमालो गर्दे अघि बढ्न आवश्यक रहेको उनले औल्याए । ‘राम्रो काम गरेर मात्र हुँदैन । राम्रो गतिविधिहरुको रिपोर्ट समयमै गृहमन्त्रालय पठाउनु पर्छ,’ उनले भने, ‘सुर्खेत जिल्ला तुलनात्मकरुपले अन्य जिल्ला भन्दा राम्रो ‘फरफमेन्स’ राख्छ ।

देशकै ‘टप टेन’ जिल्ला भित्र पर्न ‘फरफमेन्स’ बढाउनु होस् ।’ तोकिएको समय भन्दा ७ महिना पहिले नै भवन निर्माण गर्ने कम्पनीको प्रशंसा गर्दै उनले अन्य निर्माण कम्पनीहरुले राम्रो कामको अनुसरण गर्न सुझाव दिए ।

यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले प्रशासन कार्यालयका लागि आउने न्यूज बजेटले सोचेजस्तो अपेक्षाकृत आधुनिक सेवा प्रवाहमा समस्या भईरहेकाले बताए । उनले नयाँ भवन निर्माण भएसँगै आवश्यक साधनस्रोतका लागि थप बजेट पठाई दिन गृहसचिवसँग आग्रह गरे ।

कार्यक्रममा करिब साढे ७ करोड लागतमा नवनिर्मित जिल्ला प्रशासन कार्यालयको सुविधा सम्पन्न चार तले भवन तोकिएको समय भन्दा ७ महिना अगाबै निर्माण गरेवापत ठेकेदार कम्पनी सुनकोशी/प्रजिल/अभियान जेभी काठमाडौंलाई गृह सचिव सिंहले सम्मान समेत गरेका थिए । यसअघि संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतका ईन्जिनियर टिकाराम पोखरेलले १६ करोड ७३ लाख ७४ हजार ३ सय २९ रुपैयाँ (भ्याटसहित) लागतको भवन ठेकेदार कम्पनीले घटेर करिब साढे ७ करोडमा (भ्याट बाहेक) तोकिएको समयभन्दा पहिले नै निर्माण गर्न सफल भएको जनाए ।

निर्माण कम्पनीले ठेक्का घटेर लगेपनि गुणस्तरमा कुनै कमी हुन नदिएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले तोकिएको समय भन्दा पहिले नै भवन निर्माण गर्ने निर्माण कम्पनीलाई पुरस्कृत गर्न सिफारिस गर्ने बताएको छ ।

Translate »