सल्यानमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

फागुन ३० सल्यान । सल्यानमा सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार दिउँसो गाउँबाट झन्डै दुई किलोमिटर टाढा बाहुनका जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासि पड्किँदा घाइते भएका चित्रबहादुर घाइते भएका थिए ।

जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले घाइते रावतको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार बन्दुक बोकेका आइते रावत बन्दुकसहित फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

मृतक चित्रबहादुरको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।

Translate »