सन्दिपले ५ विकेट लिएपछि पपुवा न्युगिनी विरुद्ध नेपाललाई ९६ रनको लक्ष्य
फागुन २९, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा सन्दिप लामिछानेले फेरि एकपटक ५ विकेटको प्रदर्शन गरेका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीलाई ९५ रनमै अलआउट गर्न सन्दिप लामिछानेले महत्वपूर्ण ५ विकेट लिएका हुन् ।
नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा १ ओभर मेडन राख्दै २५ रन मात्र खर्चिएर ५ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान २र२ विकेट लिंदा सोमपाल कामीको नाममा १ विकेट रह्यो ।
पपुवा न्युगिनीका लागि अस्सद भालाले सर्वाधिक २० रन जोड्दा सेसे बाउले १८, चार्लेस अमिनीले १६ र हिरि हिरिले १४ रन जोडे । अन्य कुनै पनि ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि मात्र ३२ ओभरमा ९५ रनमा अलआउट भएको हो ।
नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित लिग २ को अन्तिम त्रिदेशीय श्रृङ्खलामा नेपालले यो सहित २ खेल खेल्न बाँकी छन् । दुवै खेलमा विजयी भएमा नेपाल भारतमा हुने विश्वकप क्रिकेटको सोझै छनौट चरणमा पुग्ने छ ।