प्रदेश संग्रहालय : प्रचारप्रसार अभावले ओझेलमा

स्काई न्यूज फागुन २९, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश संग्रहालय तथा अभिलेखालयलाई बजेट अभावले समस्या भएको छ । संग्रहालयका लागि न्यून सरकारी बजेट र आन्तरिक स्रोत नहुँदा समस्या भएको हो । बजेट अभावले संग्रहालयको प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको छ । संग्रहालयमा प्रदर्शनयोग्य तथा पर्यटकीय आकर्षणका वस्तुहरु राखिएको भएपनि पर्याप्त पूर्वाधार निर्माणका लागि बजेट नहुँदा समस्या भएको हो ।

संग्रहालयको विकास तथा प्रचार–प्रसारका लागि सरकारी चाँसो नहुँदा ओझेलमा परेको स्थानीय बासिन्दाको गुनासो छ । वीरेन्द्रनगरका स्थानीय नृपजंग शाहीले कर्णाली प्रदेशका पुरातात्विक वस्तुहरुको संकलन, अनुसन्धान तथा प्रदर्शन गर्ने जिम्मा पाएको संग्रहालय सरकारी उपेक्षाले ओझेलमा परेको बताए । उनले सरकारी चांसोको विषय नबन्दा संग्रहालयको विकास तथा प्रचार–प्रसारका लागि बजेट अभावले ओझेलमा परेको जनाए । उनका अनुसार संग्रहालयको विषयमा अधिकांश सुर्खेतवासी नै अनभिज्ञ रहको उनको भनाइ छ ।

संग्रहालयको लागि वार्षिक न्यून रुपमा बजेट छुट्याउने गरेको भएपनि त्यो सबै रकम प्रशासनिक काममा खर्च हुँदै आएको संग्रहालयका लेखा अधिकृत सुशील केसीले बताए । उनले संग्रहालयको अवलोकन गर्न आउने पर्यटकबाट लिने शुल्क पनि राजश्वकोरुपमा प्रदेश सरकारलाई नै पठाउने गरिएको जनाए । ‘प्रदेश तथा स्थानीय सरकारले प्रचार–प्रसारमा वजेट विनियोजन गरे पर्यटकको संख्या बढ्नुका साथै संग्रहालयको विकास गर्न कुनै समय नलाग्ने उनको भनाइ छ । ‘चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४ हजार ९ सय २२ जना दर्शकले संग्रहालयको अवलोकन गर्दा ४४ हजार ९ सय ४० रुपैयाँ आम्दानी भएको छ,’ उनले भने, ‘देशका अन्य संग्रहालयमा प्रवेश शुल्क २५ रुपैयाँ भन्दा माथि हुँदा हामी कहाँ अहिलेपनि ५/१० रुपैयाँ नै रहेकाले राजश्व बृद्धिका लागि पनि शुल्क बढाउन आवश्यक देखिन्छ ।’ उनले गत वर्ष ४ हजार ४ सय ५९ जनाले संग्रहालयको अवलोकन गरे वापत ३९ हजार ७ सय ७५ रुपैयाँ मात्र आम्दानी भएको जनाए ।

पछिल्लो समय दर्शकको संख्यामा बृद्धि हुँदै गएको भएपनि पर्याप्त भौतिक संरचना अभावले सोचेजस्तो हुन नसकेको उनको भनाइ छ । हाल संग्रहालयको स्तरोन्नतीका लागि बजेट अभावकै कारण पछिल्ला केही वर्ष सामग्रीहरुको अनुसन्धान, अध्ययन र संकलन गर्न नसएिको प्रदेश संग्रहालय तथा अभिलेखालयका प्रमुख अर्जुनबहादुर शाहीले बताए । संग्रहालयमा पर्याप्त प्रदर्शनी कक्षको समेत अभाव छ । हाल दुई वटा ग्यालेरीबाट प्रदर्शनी हुने गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारबाट संग्रहालयलाई अभिलेखालयका रुपमा स्थापना गर्ने गरी नयाँ भवन निर्माणका लागि करिब १ करोडमा ठेक्का सम्झौता भएको थियो । तर, कोरोना महामारीका कारण यहि मंसिरमा निर्माण सम्पन्न गर्नुपर्ने भवन निर्माण प्रक्रिया अहिले अलपत्र परेको छ ।

काठमाडौंको विर्डस प्रालिले निर्माणको जिम्मा पाएको टेण्डर निर्धारित समयमा सम्पन्न नभएपछि प्रदेशको मन्त्रिपरिषद्को निर्णय अनुसार पटक–पटक म्याद थप गरिए पनि भवन अलपत्र अवस्थामा । २०५७ साउन २ गतेबाट सञ्चालनमा आएको संग्रहालयले स्थापनाकालदेखि नै प्रर्दशनयोग्य वस्तु र जनशक्तिको अभाव झेल्दै आएको छ । २०७५ असोज ५ गतेबाट प्रादेशिक संग्रहालय तथा अभिलेखालय कर्णाली प्रदेशको मातहत ल्याइएपछि थप व्यवस्थित र विस्तार गर्ने निर्णय भएपनि कार्यान्वयनको पाटो भने सुस्त छ । संग्रहालयका अनुसार हाल दैनिक ५० जनासम्म आन्तरिक पर्यटकहरु अवलोकनका लागि आउने गरेका छन् । अवलोकनका लागि सबैभन्दा बढी विद्यार्थीहरु नै आउँछन् । विदेशी पर्यटक नगन्य नै हुन्छन् ।

जानकारी अभावकै कारण जिल्ला बाहिरबाट आउने पर्यटकले बुलबुले ताल र काँक्रेविहारको अवलोकन गर्ने तर, नजिकै रहेको संग्रहालयमा नआउने गरेको संग्रहालयका सहायक मधु रेग्मीको भनाइ छ । कर्णालीको कला, संस्कृति र इतिहासलाई प्राथमिकता दिएर संग्रहालयमा कर्णालीको मौलिक पहिचान झल्काउने सामग्री, तस्विर, पोशाक तथा विभिन्न ऐतिहासिक वस्तुहरु प्रदर्शन कक्षमा राखिएको छ । संग्रहालयमा पुराना तथा लोप भइसकेका भेषभूषा, गरगहना, भाँडाकुडा, पानीघडी, ढिकी लगायतका सामग्री छन् ।

दुई वटा प्रर्दशनी कक्षहरु रहेको संग्रहालयमा काँक्रेविहारबाट उत्खनन गरी ल्याइएका मूर्तिहरुसँगै राउटे, थारु, मगर, कुमाल र ठकुरी जातिका पुराना संस्कृति तथा भेषभुषा भल्काउने वस्तुहरु राखिएका छन् । पुराना सिक्का, काठका वस्तु तथा तामाका भाँडाहरु समेत संग्रहालयमा देख्न सकिन्छ । प्रर्दशनी कक्ष अभाव भएकै कारण कतिपय वस्तु अहिलेसम्म दराजमै थन्किएका छन् । कर्णाली प्रदेशको महत्वपूर्ण यस संग्रहालयको प्रचार–प्रसार गर्न सके राजश्वमा बृद्धि हुनुका साथै भावि पुस्ताले ईतिहास, कला, संस्कृति र पुरातत्वको बारे ज्ञान आर्जन गर्न सक्ने देखिन्छ ।

Translate »