सवारी दुर्घटनाको क्षती कम गरौं

अधिकांस सडक दुर्घटना मानविय गल्तीका कारणले बढी हुने गरेको छ । समयमै सबै पक्षलाई सावधानी र सर्तकर्ता अपनाउन सकियो भने क्षतीलाई कम गर्न सकिन्छ । कर्णालीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न सचेतना कार्यक्रमसँगै सवारी चेकजाँचमा कडाई शुरु गरेको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो ७ महिनामा २६८ वटा सवारी दुर्घटनामा परी ८० जनाको मृत्यु भएपछि ट्राफिकले सवारी चालकको स्वास्थ्य चेकजाँचसँगै सवारी साधनको ‘यान्त्रिक परीक्षण’ शुरु गरेको हो । यो जिम्मेवारी ट्राफिक प्रहरीको मात्र नभई अन्य एलायन्सहरुको समेत उत्तिकै रहेको छ । त्यसमा सडक कार्यालय, यातायात कार्यालयलगायतका पक्षहरु बढी सम्वेदनशील र जवाफदेही बन्न जरुरी देखिन्छ । ट्राफिकले अहिले दुर्घटना न्यूनिकरणका लागि कर्णाली बाहिरिने र भित्रिने सार्वजनिक यातायातका सवारी चालकको स्वास्थ्य चेकजाँचसँगै सवारी साधनको ‘यान्त्रिक परीक्षण’ शुरु गरेको छ । विभिन्न निकायका प्राविधिकहरुको सहयोगमा एकीकृत शिविर मार्फत सार्वजनिक सवारी साधनका चालक तथा सह–चालकको स्वास्थ्य परीक्षण, आँखा चेकजाँच, मनोपरामर्श र सवारी साधनको यान्त्रिक परीक्षण शुरु गरेको हो ।

९० प्रति सवारी दुर्घटना मानविय त्रुटीका कारण हुने गरेको तथ्यलाई आधार मान्दा कर्णाली प्रदेशभरी हप्तामा सरदर ७ जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । अब दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अवस्थासँगै सवारी चालकको स्वास्थ्यसमेत राम्रो हुनुपर्ने देखिन्छ । सवारी दुर्घटना नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरीको भूमिकामात्रै पर्याप्त हुँदैन । यसका लागि आम नागरिक तथा सवारीसँग सम्बन्धित सवारी चालक, सवारी परिचालक, यातायात व्यवस्था कार्यालय, सडक विभागजस्ता विभिन्न ‘स्टेक होल्डर’हरुको हातेमालो आवश्यक देखिन्छ । ट्राफिकले सवारी चेकजाँचमा कडाई गरेसँगै पछिल्लो सात महिनामा ट्राफिक नियम उलंघन गर्ने साढे २१ हजार सवारी साधनलाई कार्वाही गरि पौने दुई करोड रुपैयाँ राजश्व संकलन गरेभएपनि हरेक नागरिक सचेत र सजक हुन जरुरी छ ।

ट्राफिक प्रहरीले यस्ता जनचेतनामूलक कार्यक्रम समय–समयमा सञ्चालन गरेर मात्र पुग्दैन् । अन्य सरोकारवालाले समेत आम जनसमुदायलाई बेलाबखत सवारी दुर्घटना न्यूनीकरणका बारेमा जनचेतना फैलाउन आवश्यक छ । जनचेतनाको कारणले हाम्रा युवाहरुको संरक्षण र नियम, कानुनभित्र बसेर सवारी चलाउन उत्प्रेरणा वृद्धि हुन्छ । दुर्घटनाबाट कतिपय मानिसको अकालमै मृत्यु र घाइते हुँदा आर्थिक, सामाजिकसँगै मनोवैज्ञानिक समस्याले विकासमा नकरात्मक प्रभाव पर्ने गरेको छ । दुर्घटना न्यूनिकरणका लागि तीनै तहका सरकारसँगै सम्बन्धित सरोकारवाला समेत बढी जिम्मेवार बन्न आवश्यक देखिन्छ । मापदण्डविना बनाइएका सडकहरु, अत्याधिक साँघुरा घुम्ती मोडहरु, सडक सुरक्षा, पूर्वाधार र सडक चिन्हको कमि, खाल्डाखुल्डी र पहिरोका कारण दुर्घटना वर्षेनी बढ्ने क्रममा रहेको छ । सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा जनशक्तिको कमि, स्रोत साधनको कम उपलब्धता, सडकको दुरावस्था एवं प्रविधि प्रयोगको अभाव लगायतमा विशेष ध्यान दिँदै सामाजिक सचेतना फैलाउन उत्तिकै आवश्यक देखिन्छ ।

Translate »