राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता पौडेलको जित सुनिश्चित : अध्यक्ष नेपाल

स्काई न्यूज / फागुन १५, सुर्खेत । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले हालै राजनीतिमा आएको परिवर्तनले देशमा नयाँ राजनीति कोर्स शुरु भएको बताएका छन् ।

आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले राजनीतिको कोर्स नै बद्लिँदा अब देश तथा पार्टीका लागि थप चुनौती बढेको बताए ।

नयाँ आठ दलको समर्थनसहित राष्ट्रपति पदका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको उल्लेख गर्दैै उनले चुनौतीको सामना गर्नका लागि पार्टी एक ढिक्का भएर अगाडि बढिसकेको बताए । अध्यक्ष नेपालले नयाँ अवस्था सिर्जना भएर आठ दलको समर्थन कांग्रेसका उम्मेदवारको पक्षमा भएकाले राष्ट्रपति पदमा अपेक्षित परिणाम आउन लागेको बताए ।

स्थानीय, प्रदेश तथा संघीय निर्वाचन हुनुभन्दा केही समय अगाडि मात्र पार्टीको निर्माण भएकाले अपेक्षाअनुसार परिणाम नआएको उल्लेख गर्दै उनले एक महिने पार्टी सुदृढीकरणले पार्टीको संगठन सुधार र मजबुत बनाउने अभियानमा आफु अहिले जुटेको उनको भनाइ थियो ।

उनले हालै बनेको नयाँ आठ दलीय गठबन्धन नै आउँदो ५ वर्षसम्म ढुक्कले चल्ने दाबी समेत गरे।

Translate »