ठेक्का अलपत्र पार्ने पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

फागुन ८, काठमाडौं । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच ओटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरीद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
खरीद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरीद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरीद कार्यमा भाग लिन पाउने छैनन्,’ खरीद अनुगमन कार्यालयले सूचनामा भनिएको छ ।

खरीद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर(४ चितवनको ‘इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालि’ लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । विकास श्रेष्ठ सञ्चालक रहेको यो कम्पनीले चितवनको इच्छाकामना गाउँपालिकाको ठेक्का अलपत्र पारेको थियो ।

चितवनको खैरहनी नगरपालिकाको सिफारिसमा जय गढीमाई निर्माण कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखिएको छ । सीताराम चौधरी मुख्य सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

करण कुमार मुडभरी सञ्चालक रहेको मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि दुई वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीले रसुवागढी हाइड्रोपावर कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार काम नगरेको खरीद अनुगमन कार्यालयले जनाएको छ ।

त्यसैगरी सुदूरपश्चिम विद्यालयअन्तर्गतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलालीको काम अलपत्र पार्ने गुण निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ । गुणराज पाठक सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

बारबर्दिया नगरपालिकाको कार्यालय बर्दियाले कल्पना कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको उक्त कम्पनीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको खरीद अनुगमन कार्यालयले जनाएको छ । (रासस)

Translate »