दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन्‌का लागि निर्णायक सर्वेक्षण हुँदै

अन्तिम ड्रिलिङका लागि ४५ रोपनी जग्गा अधिग्रहणको तयारी

फागुन ८, दैलेख । दैलेखमा पेट्रोलियम अन्वेषणका लागि अन्तिम सर्वेक्षण सुरु हुने भएको छ । यो सर्वेक्षण नै निर्णायक सर्वेक्षण हुने छ । अहिले सुरु गरिने सर्वेक्षणले कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने यकिन गरिनेछ । सरकारले अन्तिम सर्वेक्षणको लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनीजग्गा अधिग्रहण गर्ने निर्णय गरिसकेको छ ।

दैलेखमा २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियमपदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गत विभिन्न चरणका कामहरू सम्पन्न भईसकेका छन् । अर्थपूर्ण मानिएको यसपटकको अन्तिम सर्वेक्षणमा जमिनमुनि चार किलोमिटर ड्रिलिङ हुने र यसैबाट कति परिमाणमा पेट्रोलियम पदार्थ भण्डारण छ भन्ने कुराको पुष्टि हुने बताइएको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीनको जिओलोजिकल सर्वे कम्पनीबीच २ अर्ब ४० करोड रुपैयाँको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन् गर्ने सम्झौता भएको थियो ।

सम्झौता लगत्तै चीनको प्राविधिक टोलीले सेस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिसकेको छ । सोही कार्य अन्तर्गत दैलेख, सुर्खेत, अछाम, कालिकोटसम्मका क्षेत्रलाई आधार मानेर ३३ सय स्थानमा १० मिटर गहिराईमा ड्रिलिङ सम्पन्न भइसकेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा गएका बेला दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने चीन सरकारसँग भएको सहमतिअनुसार अन्वेषणको काम सुरु गरिएको हो ।

अन्तिम सर्वेक्षणबाट दैलेखकै भूभागमा पेट्रोलियम पदार्थको उत्पादनयोग्य भण्डार भेटिएको खण्डमा देशको आर्थिक अवस्था सुधार गर्न कोशेढुंगा सावित हुने देखिन्छ । एनटिभि

Translate »