प्रेमको अर्थशास्त्र

प्रेम भावनात्मक भनिन्छ तर यससँग अर्थतन्त्र जोडिएको हुन्छ । जति नै भावनात्मक भए पनि प्रेम गरेको देखाउनुपर्छ र त्यसका लागि पैसा खर्च गर्नुपर्छ । प्रेमलाई आध्यात्मिकतासँग जोड्नेहरू पनि छन् र भौतिकतासँग जोड्ने पनि । यसलाई जेजस्तो दार्शनिकताको आवरण दिए पनि अभिव्यक्त गर्ने माध्यम भनेको चाहिँ भौतिक नै हुन्छ । त्यसैले भ्यालेन्टाइन्स डे अर्थतन्त्रमा हलचल ल्याउने अवसर मानिन्छ । यो न नेपाली संस्कृति हो न यसको कुनै धार्मिक वा प्राचीन आधार छ तर पनि युवामाझ यो निकै उत्साहपूर्ण रूपमा विस्तार हुँदै छ । विश्व अर्थतन्त्रमा प्रेमको अर्थशास्त्र निकै छ तर नेपाली अर्थतन्त्रमा पनि यसले प्रभाव पार्न थालेको छ ।

अमेरिकामा क्रिसमसपछि सबैभन्दा बढी कार्ड विक्री यही भ्यालेन्टाइन्स डेको बेला हुन्छ । यो वर्ष त्यहाँ २५ दशमलव ९ बिलियन डलर खर्च हुने अनुमान गरिएको छ । त्यहाँको नेशनल रिटेल फेडरेशनका अनुसार यो ऐतिहासिक रूपमा बढी हो । त्यहाँ मन्दीका कारण धेरैले यसका लागि खर्च कटौती गरेको समेत बताइएको छ । कार्ड, क्यान्डी, फूल र उपहारका लागि मात्रै औसतमा एक अमेरिकीले १९२ डलर खर्च गर्ने अनुमान गरिएको छ । यस्तो खर्च २०२२ मा १७५ डलर थियो । लेन्डिङ ट्री सर्वेले २ हजार वयस्क मानिसहरूमा गरेको सर्वेअनुसार सम्बन्धमा रहेकाहरूले सामान्यतया १८७ डलर खर्च गर्नेछन् । मूल्य वृद्धिका कारण त्यहाँ भ्यालेन्टाइन्स डे महँगो हुने भएको छ । त्यसैले २७ प्रतिशत जोडीले उधारो खर्च गर्ने बताएका छन् । हरेक ५ मा १ अमेरिकीले यसका लागि क्रेडिट कार्ड चलाउने तथ्यांक अर्को एक अध्ययनले देखाएको छ । ब्याजदर बढे पछि उपभोक्ताहरू खर्च गर्न निकै सचेत रहे पनि भ्यालेन्टाइन्स डेका बेलामा भने उनीहरूले दिल खोलेर खर्च गर्ने बताइन्छ । भ्यालेन्टाइन्स डेका दिन करोडौंको संख्यामा कार्ड विक्री हुन्छ । चकलेटका लागि मात्र यो बेला ४१ दशमलव ८ बिलियन डलरभन्दा बढी खर्च गरिन्छ ।

भ्यालेन्टाइन्स डेमा सबैभन्दा बढी विक्री हुने भनेको रातो गुलाफ हो । त्यस्तै औंठी, नेकलेस, ब्रासलेट, आदि गहनाहरू उपहार दिने गरिन्छ । परम्परागत उपहारका रूपमा चकलेटलाई लिइन्छ । त्यसपछि हुने ठूलो खर्च भनेको रेस्टुराँका लागि हो ।

विश्वभरि नै भ्यालेन्टाइन्स डेले अन्य चाडमा झैं निकै खर्च बढाउँछ । यस पर्वले साना व्यवसायीहरू लाभान्वित हुने गरेका छन् । कोरोनाका कारण साना व्यवसायी नै बढी प्रताडित भएका थिए । भ्यालेन्टाइन्स डेमा हुने खर्चले यस्ता साना व्यवसायीलाई निकै सहयोग गर्ने बताइएको छ । अमेरिकामा उपभोक्ताले बढी खर्च गर्ने पाँचौं घटनाका रूपमा भ्यालेन्टाइन्स डेलाई लिन्छ ।

स्टाटिस्टिका डट कमका अनुसार भ्यालेन्टाइन्स डेमा उपहारका लागि सबैभन्दा बढी खर्च गर्नेमा हङकङ पहिलो र बेलायत दोस्रो रहेको छ । अमेरिका चौथो नम्बरमा पर्छ । कार्डबाट हुने कारोबार सम्बन्धमा ५३ देशमा गरिएको एक अध्ययनअनुसार प्रेमको अर्थतन्त्र बढ्दो छ र विश्व अर्थतन्त्रमा भ्यालेन्टाइन्स डेमा हुने खर्च २०१७ यता १७ प्रतिशतले बढेको छ । भ्यालेन्टाइन्स डेमा अनलाइन कारोबार ५७ प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । यो बेलामा होटल बुकिङ २२ प्रतिशत, होटेलमा खानाका लागि ३२ प्रतिशत, कार्डमा २ प्रतिशत, गहनामा ६ प्रतिशत, फूलमा ३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

ईयू ताजा गुलाफको फूल आयातकर्ता मुलुकमा पर्छ । यसले झन्डै ६२ मिलियन यूरोको गुलाफ निर्यात गर्छ भने ६३४ मिलियन यूरो बराबरको गुलाफ आयात गर्छ । फोब्र्स पत्रिकाका अनुसार भ्यालेन्टाइन डेमा उपहार दिने प्रवृत्ति अघिल्लो वर्षभन्दा ६ प्रतिशतले बढेको छ । २०२१ मा यस्तो वृद्धि २ प्रतिशतमात्रै थियो । उसका अनुसार २६ बिलियन खर्च भई यो वर्ष भ्यालेन्टाइन्स डेको खर्चले ऐतिहासिक रेकर्ड राख्नेछ ।

यो त भयो प्रेमको विश्व अर्थतन्त्र । नेपालमा पनि भ्यालेन्टाइन्स डेको प्रभाव बढ्दो छ र यसले खर्च बढाएर अर्थतन्त्र थोरै भए पनि विस्तार गरेको छ । पुरानो पुस्ताले केही मात्रामा र नयाँ पुस्ताले बढी मात्रामा यसलाई मनाउने गरेका छन् । उपहार र कार्ड पसलमा भ्यालेन्टाइन्स डेसम्बन्धी सामान किन्न देखिएको उपभोक्ताको उपस्थिति र विभिन्न रेस्टुराँ तथा कम्पनीहरूले ल्याएको भ्यालेन्टाइन्स डे अफरले नेपालको अर्थतन्त्रमा पनि यसले केही प्रभाव पार्न थालेको देखिन्छ । चाडपर्व यसै पनि खर्च बढाउने र अर्थतन्त्र फैलाउने अवसर हो । उपहार दिने, कार्ड दिने, घुम्न जाने र रेष्टुराँमा खान जाने प्रवृत्ति बढ्दो छ । २ सयदेखि १ हजारसम्मका भ्यालेन्टाइन्स डेको कार्ड बजारमा विक्री भइरहेको देखिन्छ । त्यस्तै चकलेट उपहार दिने प्रवृत्ति पनि बढ्दो छ । पसलेहरूका अनुसार काठमाडौंमा उच्च मध्यम वर्ग र उच्च वर्गले भ्यालेन्टाइन डेमा कार्ड र गुलाफ किन्ने प्रवृत्ति बढ्दो छ । यो २ लाख ८० हजार ताजा गुलाफका स्टिक विक्री हुने अनुमान छ । यसका लागि करोडौं रुपैयाँ बाहिरिएको छ र यसलाई रोक्न सरकारले आयातमा प्रतिबन्धसमेत लगाएको छ । नेपालकै गुलाफले पनि बजार पाउने देखिन्छ ।

भ्यालेन्टाइन्स डेको बढ्दो प्रभावका कारण कम्पनीहरूले विशेष अफर समेत ल्याउन थालेका छन् । इकमर्स प्लेटफर्म दराजले उपहार खरीदमा छूट दिएको छ । सौराहामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न भ्यालेन्टाइन विशेष खाना महोत्सवको आयोजना गरिरहेको छ । जगदम्बा मोटर्सले स्कुटर खरीदमा लभ एक्सप्रेस योजना ल्याएको छ जसमा ६ हजारसम्म छूट दिइएको छ । एनआइसी एसिया बैंकले सेलिब्रेट लभ विथ एनआइसी एसिया बैंक योजना ल्याएको छ । रेस्टुराँहरूले भ्यालेन्टाइनका लागि विशेष सजावट गरेका छन् भने विशेष सांगीतिक कार्यक्रम समेत राखेका छन् । होटलहरूले २० प्रतिशतसम्म छूट दिएका छन् । यी सबैले अर्थतन्त्रलाई गति दिन्छन् । प्रेमको अभिव्यक्ति यी नै कुराबाट गरिने भएकाले मानिसहरूले राम्रै खर्च गर्ने हुँदा प्रेमको अर्थतन्त्र पनि ठूलै रहेको देखिन्छ । तर, यसमा बढाउने उपभोगका लागि पैसा विदेशिने भएकाले विदेशी विनिमय सञ्चितिमा भने यसले प्रभाव पार्ने देखिन्छ । आर्थिक अभियान

Translate »