जलवायु परिवर्तनको असर राउटेमा
जलवायु परिवर्तनको असर अहिले हरेक क्षेत्रमा देखा पर्न थालेको छ । पछिल्लो समय जंंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायमा समेत जलवायु परिवर्तनको असर देखिन्छ । फरक जीवनशैली अपनाउने उनीहरुको यस्तो रहनसहनले नेपाललाई विश्वमा पनि चिनाएको छ भने सांस्कृतिक विविधतामा एउटा इँटा पनि थपेको प्रष्ट हुन्छ । यो समुदाय दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलका छेउ, पहाडको खोंच तथा टाकुरा, नदी किनारमा बसाइँ सरिरहन्छन् । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे जाति दक्षिण एसियाको एक मात्र भ्रमणशील र फिरन्ते जाति हो । आफूलाई ‘वनको राजा’ भन्न रुचाउने यो समुदाय नेपालको नागरिक हौं भनेर गर्व गर्छन् । स्थायी अन्य समुदायका नागरिकसँगको घुलमिल, लेखपढ र खेतीपाती गर्ने तरिका केही परिवर्तन भएको देखिन्छ । आफ्नो परम्परामा कडा देखिए तापनि आधुनिकतासँगै राउटे समुदायमा परिवर्तनको संकेत देखिएको यो समुदायलाई नजिकबाट नियालिरहेकाहरु बताउँछन् । तर, यो समुदायमा जलवायु परिवर्तनको असर पनि उत्तिकै परेको देखिन्छ ।
काठका कोसी मदुस, झुमा, पिर्कालगायतका सामग्री बनाई गाउँमा लगेर अन्नसँग साटेर जीविकोपार्जन गर्नु उनीहरुको पुख्र्याैली परम्परा नै हो । वनका कु–काठ काटी निकै मेहनतका साथ भाँडाकुँडा बनाउने उनीहरूले पछिल्लो समय काठ पाउनै मुस्किल परेको छ । यसकै कारण अहिले उनीहरु वनमा आश्रित छैनन् । विकासका नाममा जथाभावी सडक खन्नेलगातका कारणले वन मासिँदै छ । त्यसको असर सोझै राउटे समुदायमा बढी परेको देखिन्छ । जीविकोपार्जनको मुख्य स्रोत गुम्दै जाँदा उनीहरुले नेपाल सरकारबाट दिइने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन धानिरहेका छन् ।
कुनै समय गिठाभ्याकुर, तरुललगायतका जंगली कन्दमूलको भरमा उनीहरु बाँच्थे । गुना बाँदरको शिकार गर्थे । अहिले जंगलमा कन्दमूल पाइनै छोडेपछि उनीहरु बजारमा पाइने अस्वस्थकर खानपान जंकफुडका कारण यस समुदायका धेरै बिरामी परिरन्छन् । यो समुदायमा पछिल्लो केही वर्षयता मदिराको कुलत पनि बढेको छ । अर्कोतर्फ वन जंगल मासिँदै गएपछि प्राकृतिक रूपमा पाइने जडीबुटीसमेत पाउनै मुस्किल हुने गरेको छ । बाँदरको सिकार गर्ने र कन्दमूल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने राउटे केही वर्ष अघिसम्म पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता राख्थे । तर पैसा माग्दै हिड्ने गरेका पाइन्छ । यसतर्फ राज्यले समयमै आम नागरिकलाई जलवायु परिवर्तनको असर बारे सचेत र जागरुक बनाउन आवश्यक देखिन्छ ।