आगोमा जलेकालाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

माघ १६, पोखरा । पोखराको काहूँखोलामा आइतबार आत्मदाहको प्रयास गरेका घर भाडामा बस्ने एक युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको उपचारका क्रममा सोमबार मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरुममा आत्मदाहको प्रयास गरेका थिए ।

उनलाई बचाउने क्रममा गम्भीर घाइते भएकी घरबेटी सापकोटाको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

आत्मदाहको प्रयास गरेका क्षत्रीको अस्पतालमा उपचार भइरहेको र अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् ।

Translate »