‘बढी बोल्नु भन्दा काम गरेर देखाउँछौं’

स्काई न्यूज /माघ १३, सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले कर्णालीको विकासका लागि बढी बोल्नु भन्दा काम गरेर देखाउनु पर्ने बेला आएको बताएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा नेकपा एमालेका तर्फबाट नवनियुक्त कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले थोरै बोलेर धेरै काम गर्नुपर्ने बेला आएको बताएका हुन् ।

नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले कर्णालीमा न्यून विकास खर्च हुने परिपाटीलाई अन्त्य गर्दै अग्रगामी छलांङ्ग मार्नुपर्ने चुनौती रहेको बताए । विकास निर्माणका कामहरु तोकिएकै समयमा सम्पन्न नहुँदा नागरिकमा निरासा बढेको भन्दै उनले समयमै आयोजना सम्पन्न गराउन तर्फ आफ्नो ध्यान केन्द्रित हुने जनाए ।

कार्यक्रममा नवनियुक्त सामाजिक विकास मन्त्री टेकराज पछाईले मुख्यरुपमा आम नागरिकले सरकारसँग राख्ने अपेक्षा भनेकै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा रोजगारी जस्ता विषय हुने भएकाले आफुले योजनाबद्ध खाका तयार गरेर अघि बढेको बताए । त्यस्तै अर्का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले कर्णालीमा उपलब्ध स्रोत साधानको अधिकतम् उपयोग गरेर नागरिकको जीवनस्तर माथि उकास्न सबै सँग हातेमालो गरेर अघि जिकिर गरे ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले कर्णालीमा पत्रकारले भोक्नु परेका समस्या र चुनौतीका बारेमा नवनियुक्त मन्त्रीहरुलाई ज्ञापनपत्र समेत बुझाएको थियो । यसैवीच चौतारीले आजै कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङलाई समेत हार्दिक बधाई तथा शुभकामना दिएको छ ।

Translate »