शिक्षाको गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका महत्वपूर्ण : नेता खड्का

माघ १२, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताएका छन् । उपसभापति खड्काले प्रतिष्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताए । ‘अब्बल विद्यार्थी उत्पादन गर्नका लागि शिक्षकले राम्रो शिक्षा दिनुपर्छ, अभिभावकले त्यसको वातावरण तयार गरिदिनुपर्छ, विद्यार्थीले मन लगाएर पढ्नुपर्छ,’ गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९ ओैं वार्षिकोत्सब समारोह उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘यी तीन पक्षको समन्वय र सहकार्य हुन सक्यो भने मात्रै गुणस्तरीय र अब्बल विद्यार्थी उत्पादन गर्न सकिन्छ ।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका खड्काले विद्यालयमा अभिभावकको निगरानी आवश्यक रहेको बताए । ‘आफ्ना नानी–बाबुहरूलाई विद्यालय पठाएर मात्रै अभिभावकहरूको दायित्व पूरा हुँदैन्,’ खड्काले भने, ‘उनीहरूले कस्तो शिक्षा पाइरहेका छन्, पढाईको गुणस्तर कस्तो छ भन्ने कुराको जानकारी पनि राख्न जरूरी छ ।’ उपसभापति खड्काले विद्यार्थीलाई कितावी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप र जीवन जिउने कला सिकाउनु आवश्यक रहेको बताए । ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र अनुशासन, चरित्र र जीवनपद्दती सिकाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘अनुशासन, चरित्रवान र जीवनपद्दती बुझेको विद्यार्थी अहिलेको आवश्यकता हो ।’

उपसभापति खड्काले विद्यालयले राखेका मागहरु पूरा गर्ने प्रतिवद्धता पनि जनाए । नेरामाविले आवासीय विद्यालय सञ्चालन गर्नुका साथै पालिकाभरीका अभिभावक विद्यार्थीहरुलाई पनि पढाउँदै आएको छ । विद्यालयले माग गरेको स्कुल बसलगायत पूर्वाधार निर्माणका मागहरु पूरा गर्ने उनले बताए । उपसभापति खड्काले निर्वाचनका क्रममा जनतासँग गरेका बाचा पूरा गर्ने प्रतिवद्धता पनि दोहो¥याए ।

‘सरकार फेरवदल हुँदा चुनावमा गरिएका बाचाहरु पूरा हुँदैनन् कि भन्ने मतदातामा चिन्ता देखियो,’ उनले भने, ‘हामीले पाँच वर्षका लागि जे–जे बाचा गरेका थियौं, ति सबै पूरा हुन्छन् ।’ गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले पालिकाभित्रका अभिभावक नभएका बालबालिकाको अभिभावकत्व नगरपालिकाले ग्रहण गरेको बताए । ‘त्यस्ता बालबालिकालाई यसै विद्यालयमा आवासीय रुपमा राखेर राम्रो शिक्षाको प्रवन्ध मिलाएका छौं,’ उनले भने, ‘कुनै पन बालबालिका शिक्षाको उज्यालोबाट बन्चित नहुन भन्नेमा हामी चनाखो छौं ।’ उनले आवासीय विद्यालयको भौतिक पूर्वाधार सुधार र प्रविधितर्फ पालिकाले सहयोग गर्दै आइरहेको बताए ।

Translate »