कर्णालीमा खाद्यवस्तु परीक्षण शुरू

सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन प्रयोगशाला परीक्षण शुरू गरेको छ । प्रयोगशाला गत जेठमा सञ्चालनमा ल्याए पनि परीक्षण भर्खर शुरू गरिएको कार्यालयले बताएको हो । यसले गुणस्तरयुक्त खाद्यवस्तु पाउने नागरिक अधिकारमा सघाउ पुर्‍याएको कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।

प्रयोगशालामा अहिले दैनिक उपभोग्य वस्तुको परीक्षण भइरहेको उनको भनाइ छ । ‘दैनिक उपभोग्य वस्तुको गुणस्तर प्रयोगशालामा परीक्षण गर्न थालेका छौं,’ उनले भने, ‘अब गुणस्तर मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ । नागरिकलाई गुणस्तरयुक्त खाद्यवस्तु उपभोगमा सघाउ पुगेको छ ।’

यसैबीच, कार्यालयले पछिल्लो तीन महीनाको प्रगति सार्वजनिक गरेको छ । दोस्रो त्रैमासिक प्रगति सार्वजनिक गरेको कार्यालयले ४१ दशमलव ९० प्रतिशत लक्ष्य पूरा भएको बताएको छ, जसअन्तर्गत ४१ दशमलव ९० प्रतिशत भारित प्रगति र ३० दशमलव ७७ प्रतिशत वित्तीय प्रगति भएको बताइएको छ ।

कार्यालयका निमित्त प्रमुख थापाका अनुसार पहिलो त्रैमासिकमा कार्यालयले ४० दशमलव ६७ प्रतिशत भारित प्रगति र ५६ दशमलव ६८ प्रतिशत वित्तीय प्रगति गरेको थियो । कार्यालयले गुणस्तरीय खाद्यान्न उपयोग गर्ने नागरिकको अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनसँगै उपभोक्ता सचेतनाका कार्यक्रमलाई बढावा दिइएको उनको भनाइ छ ।

कार्यालयले तीन महीनामा प्रदेशभर खाद्य बजार ३४, खाद्य उद्योग २९, दाना बजार दुई, दूध, तेल, पानी उत्पादन गर्ने उद्योग १९ र होटल/रेष्टुराँ, मिठाई पसल ३३ ओटामा अनुगमन गरेको बताएको छ । अनुगमनका क्रममा कार्यालयले ६ महीनामा रू. ६ लाख ८५ हजार ७०० मूल्यको गैरखाद्य वस्तु जफत गरी नष्ट गरेको र रू. ८ लाख २० हजार मूल्यको खाद्यवस्तु नष्ट गरेको निमित्त प्रमुख थापाले बताए । कार्यालयले हालसम्म रू. १ लाख ९२ हजार राजस्व संंकलन गरेको छ । रासस

Translate »