पश्चिम नेपालमा ५.९ रेक्टर स्केलको भूकम्प, बाजुरामा घर भत्किए

कर्णालीमा क्षती नभएको विवरण

माघ १०, काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पश्चिम नेपालको बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा पश्चिम नेपालका  बाँके, बझाङ, कैलाली, बाजुरालगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट भएको भौतिक र मानवीय क्षतिबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

बाजुराको मेला केन्द्रबिन्दु भएर गएको भूकम्पले जिल्लाका विभिन्न स्थानमा घर भत्किएको समाचार छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विभिन्न स्थानमा घर भत्किएको हो । यद्यपि हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

प्रहरीका अनुसार बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको छ ।

यसैगरी वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा हिमपात भएको र यही बीचमा भूकम्प जाँदा जनजीवन कष्टकर भएको जनाइएको छ । भूकम्पपछि टेलिफोनको नेटवर्कमा समस्या देखिएपछि विवरण संकलनमा समस्या भएको प्रहरीको भनाइ छ ।

यस्तै बझाङको चैनपुरलगायतका स्थानमा पनि भूकम्पले घरहरु चर्किएको खबर प्राप्त भएको बताइएको छ । भूकम्पका धक्का कर्णाली र सुदूरपश्चिमसहित भारतसम्म महसुस भएको जनाइएको छ ।

यसैबीच कर्णालीका कुनैपनि जिल्लामा भूकम्पबाट क्षति भएको विवरण नआएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।

Translate »