‘न्याय सम्पादनलाई प्रभावकारी बनाउन जोड’

स्काई न्यूज/ सुर्खेत ८ माघ । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले स्थानीय पालिकाका न्यायिक समितिले न्याय सम्पादनमा प्रभावकारी भुमिका खेल्नु पर्ने जोड दिएका छन् । युएनडिपी र जिल्ला समन्वय समिति सुर्खेतको संयोजन तथा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्धारा आइतबारदेखि वीरेन्द्रनगरमा शुरु भएको न्यायिक समितिका सदस्यलाई न्याय सम्पादन सम्बन्धी दुई दिने कार्यशालाको उद्घाटन गर्दै प्रमुख सुनारले स्थानीय पालिकाका न्यायिक समिति नै जनताको पहिलो न्यायिक सम्पादन गर्ने थलो भएको हुँदा न्यायिक समितिहरु जनतालाई न्याय दिन सक्षम हुनुको विकल्प नभएको बताएका हुन् । पाालिकाहरुले आफैले कानुन बनाएर कामगर्ने अवस्था नभएको र धेरै कानुनी जटिलताहरु रहेपनि स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४७ अनुसार न्याय सम्पादन गर्न न्यायिक समितिहरु तत्पर भई लाग्नुपर्ने उनले बताए ।

न्यायिक समिति तथा यसमा आबद्ध कर्मचारीहरुका लागि यस्ता कार्यशाला फलदायी हुने उनको विश्वास थियो । वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया ढकालले प्राविधिक जनशक्ति तथा कानुनको अभावमा पालिकाका न्यायिक समितिहरु न्याय सम्पादन गर्न अन्यौल रहेको चर्चा गर्दै संघ र प्रदेश सरकाले आवश्यक संरचना र पुर्वाधारको तत्काल व्यवस्थापन गर्नु पर्नेमा जोड दिईन् । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय कर्णाली प्रदेशका कानुन सचिव शंकरबहादुर केसीले स्थानीय तह र जनता बीच सबै भन्दा नजीकको सम्बन्ध तथा सहज पहुँचमा रहेकोले न्यायिक समितिले छिटो छरितो न्याय सम्पादन गरेमा मात्र स्थानीय तहमा सुशासन कायम हुने बताए ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले न्यायिक समितिहरुले न्याय सम्पादनको क्रममा भोगेका अनुभवहरु आदान प्रदान गर्न र कानुनी जटिलताहरुको बारेमा प्रष्टरुपमा राख्न आग्रह गर्दै न्यायिक समितिलाई न्याय सम्पादनमा सक्षम बनाउन कार्यशाला आयोजना गरिएको उल्लेख गरे । कार्यशालामा सुर्खेत जिल्ला न्यायधिश मनोज श्रेष्ठ, श्रेस्तेदार ठाकुर पौडेल, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कानुन सचिव शंकरबहादुर केसी, उपसचिव वीरेन्द्रबहादुर केसी, अधिवक्ताहरु इमानबहादुर सुनार, उत्तम आचार्य र मातृकाप्रसाद खनालसँगै पालिकाहरुका न्यायिक समितिका संयोजक, सदस्य तथा समितिमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ ।

Translate »