पूर्वाधार विस्तार गर्दै जाजरकोट अस्पताल

माघ ८, जाजरकोट । तीनओटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत बलियो बन्दै गएको छ । जाजरकोट अस्पताल कर्णाली प्रदेशका ५० शैयाका दुई अस्पतालमध्येको एक हो ।

दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउन सरकारले विगत एक दशकदेखि गरेको पहलस्वरूप उक्त अस्पतालमा संरचना थपिन लागेको हो ।

१५ शैयाबाट सेवा प्रवाह हुँदै आएको अस्पताल अहिले ५० शैयामा विस्तार भएको छ । चारओटा अत्याधुनिक भवन अबको दुई महीनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले बताएको छ ।

चिकित्सकको आवासदेखि सेवा प्रवाहका लागि भवन अभाव रहेकाले समय, समयमा विवाद हुँदै आएको अस्पतालमा अब दरबन्दीअनुसारको स्वास्थ्यकर्मी परिचालन गरी सबै खालको सेवा दिनसके कर्णाली प्रदेशकै दोस्रो अस्पतालको रूपमा विकास हुने अपेक्षा गरिएको छ । रुकुम पश्चिम, जाजरकोट, डोल्पा र सल्यानको बीचमा रहेको यो अस्पताल सबैको भरोसा बटुल्न सेवा प्रवाहलाई प्रभावकारीे बनाउनुपर्ने सरोकारवाला बताउँछन् ।

अक्सिजन प्लान्टदेखि शल्यक्रिया सेवासमेत प्रदान गर्दै आएको अस्पताल सेवा प्रवाहमा अब्बल हुनुपर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । ‘सेवा दिने र लिने दुवै सन्तुष्ट भएमा मात्र अस्पतालको भरोसा बढ्छ,’ उनले भने, ‘संरचनाको विकास भएर मात्र हुँदैन । अब सेवा प्रवाहको पाटोसमेत बलियो हुनुपर्छ ।’

कर्णाली प्रदेश सरकारको मातहतमा रहेको यो अस्पताललाई संघीय सरकारको मातहतमा राख्नुपर्ने मागसमेत उठ्दै आएको छ ।

तीन जिल्लाको बीचमा रहेका कारण सबै खालका सेवा प्रवाह गर्नुपर्ने भएकाले यसलाई संघ सरकार अन्तर्गत राखेर काम गर्नुपर्ने सरोकारवालाको भनाइ छ । अस्पताल जाने सडक, खानेपानी र विद्युत् सेवालाई भरपर्दो बनाउन सके यहाँ सेवा लिन आएका नागरिकलाई थप सन्तुष्ट बनाउन सकिने जुनिचाँदे–४ का रेशमबहादुर खड्काले बताए ।

६४ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा अहिले सबै दरबन्दीमा स्वास्थ्यकर्मी कार्यरत नरहेको पाइएको छ । स्वास्थ्यकर्मी र कर्मचारीको सेवा, सुविधालाई व्यापक हेरफेर गरी काम गर्नसक्ने वातावरण निर्माण गर्नसमेत सरोकारवालाको सुझाव छ । रासस

Translate »