सुदूरपश्चिमले जित्यो ‘प्रधानमन्त्री कप महिला टी–२०’ को उपाधि

सुनसरी । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि पहिलो पटक सुदूरपश्चिमले जितेको छ । इटहरीमा आज सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।

जनता पार्क मैदानमा जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरकी कविता जोशी २० बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहँदा सम्झना खड्का ३३ बलमा २ चौका सहित २७ रनमा अविजित रहिन् । डली भट्ट १६ बलमा १ चौका र २ छक्कासहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भए ।

प्रदेश एकको लागि सबनम राई, रुविना क्षेत्री, सङ्गीता राई र हिरनमय रायले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।

प्रतियोगितामा कविता कुँवरले विधागत पुरस्कारमा वर्चस्व कायम राखिन् । उनले स्कुटरसँगै प्रमुख दुई अवार्ड जितिन् । कविताले उदयमान खेलाडीको रुपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट सङ्घले प्रदान गरेको २ लाख ७० हजार मूल्यको स्कुटर पाइन् । कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन् । सर्वोत्कृष्ट खेलाडी बापत उनले ३० हजार र ब्याटरको रुपमा २० हजार नगद पुरस्कार पाइन् ।

सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुँदै नगद २० हजार पुरस्कार पाइन् । विजेता सुदूरले पाँच लाख र उपविजेता प्रदेश एकले तीन लाख प्राप्त गरेका छन् ।

Translate »