कर्णालीका उपसभामुख न्यौपानेद्वारा शपथग्रहण

स्काई न्यूज /माघ ४, सुर्खेत ।  कर्णाली प्रदेशका नव निर्वाचित उपसभामुख यशोदा न्यौपानेले पद तथा गोपनियताको शपथ ग्रहण लिएकी छन् । प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा प्रदेश सभामुख नन्दा गुरुङले बुधबार प्रदेश कार्यालयमा आयोजित एक समारोहमा उपसभामुख न्यौपानेलाई पद तथा गोपनियताका शपथ ग्रहण गराएकी हुन् । शपथग्रहण कार्यक्रममा मन्त्रीहरु, सांसदहरु, नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेललगायत उच्च पदस्थ ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसअघि कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौं बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट न्यौपाने निर्वाचित भएकी हुन् । बैठकमा नेकपा (माओवादी) केन्द्रका सांसद कृष्णबहादुर जिसीले प्रदेश सभा सदस्य न्यौपानेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २४ मत परेसँगै उनी उपसभामुखमा निर्वाचित भएकी हुन् ।

प्रस्तावको विपक्षमा १४ मत खसेको थियो । ४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा भएको मत विभाजन प्रक्रियामा ३८ सांसदहरु सहभागि भएका थिए । उता नेपाली काँग्रेसबाट उपसभामुख पदमा उम्मेदवारी दिएकी ईन्द्रकुमारी शाहीलाई नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले निर्वाचित गरियोस् भन्ने पेश गरेको प्रस्ताव बहुमतले अस्विकृत भएको थियो । यो सँगै कर्णाली प्रदेश सभाको सभामुखमा र उपसभामुख पदमा दुबै जना महिला निर्वाचित भएकी छिन् ।

Translate »