यी हुन् विश्वका भयानक ठूला १० विमान दुर्घटना, सबैभन्दा धेरै अमेरिकामा !

काठमाडौं । पछिल्लो समय विश्वभर हवाई यात्रा निकै सुरक्षित बन्दै गइरहेको छ । दुर्घटना घटेका छन् । गएको १० वर्षमा विश्वमा हवाई दुर्घटनामा मर्नेको संख्या अघिल्लो १० वर्षको तुलनामा कम छ ।

तर, नेपालको अवस्था भने ठिक उल्टो छ । आइतवार पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एअरलाइन्सको विमान दुर्घटनाग्रस्त भयो । यो दुर्घटना मानविय क्षतिका आधारमा नेपालको आन्तरिक हवाइ दुर्घटनामा तीन दशकयताकै सबैभन्दा ठूलो  दुर्घटना हो । विमानमा रहेका ७२ जनामध्ये ७० जनाको शव भेटिएको छ । अन्यको खोजीकार्य भइरहेको छ ।

सन् २००० पछिको यो २२ औं दुर्घटना हो । अर्थात २१ औं शताब्दीको २२ दुर्घटना हो । यी घटनाहरुमा ३६० जना भन्दा धेरैको ज्यान गएको छ । यस्ता दुर्घटनाहरूले विश्वस्तरमा नेपालको हवाई सुरक्षामाथिको चासो र आशंका झनै बढाइरहेका छन् ।

सन् २०२२ मा विश्वमा ६ ओटा हवाई दुर्घटना भएका थिए । यसमा कूल १७४ जनाको मृत्यु भयो । यसमध्ये एउटा दुर्घटना नेपाली हवाई सेवा प्रदायक कम्पनी तारा एयरको थियो । जसमा २२ जना सवार ट्विन अटर दुर्घटना हुँदा यात्रु र चालक दलका सदस्यसहित सबैको मृत्यु भयो ।

आइतवारको घटनाले एक पटक पुनः सारा विश्वको ध्यान नेपालको हवाई (अ)सुरक्षातिर गएको छ । हवाई दुर्घटनामा हुने यस्तो मानविय क्षति अपूरणीय अनि कहाली लाग्दो छ । विश्व इतिहासका मानवीय क्षतिका आधारमा डरलाग्दा केही हवाई दुर्घटना भएका छन् । अधिकांश दुर्घटना २० औं शताब्दी मा भएका थिए ।

टेनेराइफ एयरपोर्ट विपद

क्यानरी टापुमा भएको यो हवाई दुर्घटनालाई विश्वको उड्ययन इतिहासकै सबैभन्दा डरलाग्दो दुर्घटनाको रुपमा हेर्ने गरिएको छ । सन् १९७७ को मार्च २७ मा स्पेनको क्यानरी टापुको टेनेराइफ विमानस्थलमा दुई ओटा बोइङ् ७४७ एक आपसमा ठोक्किए । गलत सञ्चार, ढपक्कै कुहिरो, चालकको गल्ती आदिका कारण भएको सो दुर्घटनामा दुई विमानमा सवार भएका ६४४ जना मध्ये ५८३ जनाको मृत्यु भएको थियो । उपर्युक्त सञ्चार प्रोटोकल हुन सकेको भए यो घटना टार्न पनि सकिन्थ्यो ।

जापान एयरलाइन्सको बोइङ ७४७

सन् १९८५ को अगष्ट १२ मा जापानमा जापान एयरलाइन्सको फ्लाइट १२३ बोइङ ७४७ विमान गुन्मा प्रिफेक्चरको उइनोमा मेकानिकल समस्याका कारण दुर्घटना भयो । विमानको पछाडिको भाग झरेपछि विमान ताकामागाहारा हिमालमा खस्यो । यो घटनामा १५ जना क्रुमेम्बर र ५०५ यात्रुको मृत्यु भयो । यस दुर्घटनामा ४ जना भने बाँच्न सफल भएका थिए ।

साउदी अरेबियन एयरलाइन्स र काजकस्तान एयरलाइन्स

सन् १९६६ को नोभेम्बरमा भारतको नयाँ दिल्ली नजिकको चार्खी दादरी गाउँको आकाशमा साउदी अरेबियन एयरलाइन्सको फ्लाइट ७६३ र र काजकस्तान एयरलाइन्सको फ्लाइट १९०७ ठोक्किए । काजकस्तानका पाइलटले अंग्रेजीमा राम्ररी कुराकानी गर्न नसक्दा हवाई ट्राफिक नियन्त्रण कमान्डमा समस्या देखियो । यस घटनामा दुबै विमानमा सवार ३४९ जनाको मृत्यु भएको थियो ।

टर्किश एयरलाइन्स 

सन् १९७४ को मार्च ३ मा पेरिस नजिक टर्किश एयरलाइन्सको फ्लाइट ९८१ दुर्घटनाग्रस्त भयो । यस घटनामा ३४६ जनाको मृत्यु भयो । विमानको पछाडि पट्टी रहेको कार्गो खन्डको ढोकामा डिजाइन त्रुटिका कारण सो दुर्घटना भएको थियो । कार्गो खन्डको ढोका खस्दा सो दुघर्टना निम्तियो । यो यूरोपको इतिहासको सबैभन्दा कहालिलाग्दो हवाई दुर्घटना हो । यो घटनामा विमानमा सवार सबैको मृत्यु  भएको थियो ।

साउदी अरेबियन एयरलाइन्स

सन् १९८० को अगष्टमा साउदियाको फ्लाइट १६३ दर्घटना हुँदा विमानमा सवार ३०१ जनाको मृत्यु भयो । रियाद अन्तरराष्ट्रिय विमानस्थलबाट जेद्दाहको लागि उड्ने बित्तिकै विमानमा आगो लागेको थियो । चालकले तत्कालै विमानस्थलमा विमान फर्काउने निर्णय गरेपनि विमानमा आगो फैलिइसकेको थियो । एयर कन्डिशनिङ सिष्टममा त्रुटिका कारण धुँवाले निस्सासिएर विमानभित्र सवार रहेका २८७ यात्री र १४ क्रु मेम्बरको मृत्यु भएको थियो ।

अमेरिकन एयरलाइन्स

सन् १९७९ को मे २५ मा सिकागोको ओ’हारे अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकन एयरलाइन्सको फ्लाइट १९१ उडेको केही मिनेटमा दूघर्टना भयो । बायाँ पंखाबाट इन्जिन निस्किँदा विमानको हाइड्रोलक प्रणाली गम्भीर क्षति पुग्यो । आगो लाग्यो, विमानमा सवार २५७ जनाकै मृत्यु भयो । उडानको ८ हप्ता अघिको विमान मर्मत प्रक्रिया राम्ररी पूरा नगरिँदा सो दूघर्टना भएको पाइएको छ । विमानका कारण जमिनमा रहेका २ जनाको पनि मृत्यु भयो । यो अमेरिकाको इतिहासको सबैभन्दा खराब विमान दूर्घटनामा पर्दछ ।

मलेशिया एयरलाइन्स 

सन् २०१४ मा क्वालालम्पुरबाट पेचिङको लागि उडेको मलेशिया एयरलाइन्सको विमान  बेपत्ता भयो । २३९ यात्री र क्रु मेम्बर बोकेको मलेशिया एयरलाइन्सको एमएच ३७० विमान हराएको ८ वर्ष वितिसक्दा पनि यसको अवस्था अहिलेसम्म अज्ञात नै छ ।

सो विमानबारे अनेकौं हल्ला बाहिर आउँछन् । कसैले यो अपरहण भयो भन्छन् त कसैले आतंकवादीहरूले आक्रमण गरे भन्छन् । अर्काथरीले भने मेकानिकल समस्या वा चालकको त्रुटिका कारण विमान दुर्घटना भएर बेपत्ता भएको भन्छन् । एमएच ३७० लाई के भयो भन्नेबारे ठोस प्रमाण अहिलेसम्म फेला परेको छैन ।

अमेरिकन एयरलाइन्स 

सन् २००१ नेभेम्बरमा न्यूयोर्कस्थित जेएफके विमानस्थलबाट उडेको केही क्षणपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ५८७ दुर्घटनामा पर्यो । यो घटनामा २६० जनाको निधन भएको थियो । विमान खसेर लाग्दा जमिनमा भएका अरू ५ जनाको पनि मृत्यु भएको थियो ।

शुरुमा यो आतंककारी आक्रमण हो कि भन्ने अनुमान गरिएको थियो । २००१ को सेप्टेम्बरमा अल कायदासम्बद्ध अतिवादी समूहले ४ ओटा विमान अपहरण गरेर अमेरिकामा आत्मघाती आक्रमण गराएको थियो । तर पछि त्यो दुर्घटना चालकको त्रुटिका कारण भएको पाइएको थियो । यस्तो खालको दुर्घटना दोहोरिन नदिन अमेरिकन एयरलाइन्सले आफ्नो पाइलटहरूको तालिम कार्यक्रममा नै हेरफेर गर्नु परेको थियो ।

चाइना एयरलाइन्स 

सन् १९९४ को अप्रिलमा जापानको नागोया विमानस्थलमा चाइना एयरलाइन्सको फ्लाइट १४० दुर्घटना भयो । यो घटनामा विमानमा सवार भएका २७१ जनामध्ये २६४ जनाको मृत्यु भयो । यो दुर्घटना पनि चालकको गल्तिका कारण भएको थियो । पाइलटले शुरुमा झुक्किएर ल्यान्ड गर्नु अघि नै टेक अफ बटन थिचे । अटोपाइलट शुरु भएपछि गल्ती सच्याउन भ्याइएन र विमान दुर्घटना भयो ।

नाइजेरिया एयरवेज

सन् १९९१ को जुलाईमा नाइजेरिया एयरवेजको फ्लाइट २१२० साउदी अरबको जेद्दाहस्थित किंग अब्दुल्लाह इन्टरनेशनल एयरपोर्ट नजिक दुर्घटना भयो । विमानमा सबै २६१ यात्रुको यो दुर्घटनामा ज्यान गयो । विमानमा सवार अधिकांश मक्का जान हिडेका मुस्लिम तीर्थयात्री थिए । अनुसन्धानका क्रमममा टेक अफको समयमा विमानको चक्कामा समस्या आएका कारण आगो लागेको पाइएको थियो । दुर्घटनाको समयमा विमान ६७१ मिटर मात्रै माथि थियो । विमानबाट मानिसहरू खसेको देखिएको थियो ।

एयर फ्रान्सको फ्लाइट ४४७ मा २२८ जना, एयर इन्डियाको फ्लाइट १८३ मा ३२९ जना, इरान एयरको फ्लाइट ६५५ मा २९० जना, अल्जेरियन एयर फोर्सको विमानमा २५७ जनाको मृत्यु भएको थियो । माथि उल्लेख गरिएको बोहक पनि २०० भन्दा धेरैको मृत्यु हुने गरी अन्य दर्जनौं दूघर्टना भएका छन् । सयभन्दा बढी २०० भन्दा कमको मृत्यु भएका दूघर्टनाको संख्या सयौं छन् ।

अमेरिकन एयरलाइन्स र एयर फ्रान्स सबैभन्दा धेरै हवाई दूघर्टना हुने विमान कम्पनी हो । यी दुबैका विमान ११ पटक दूघर्टनामा परेका छन् । दोस्रो धेरै दूघर्टनामा पर्नेमा चाइना एयर लाइस र कोरियन एयर छन् । यी दुबै कम्पनीका ९÷९ दूघर्टना भएका छन् । यी मध्ये झन्डै आधा दुर्घटना चालकको गल्तीका कारण भएको पाइन्छ ।

अचानक विमानमा देखिने मेकानिकल समस्या, मौसमको गडबडी, एयर ट्राफिक नियन्त्रणमा त्रुटि आदिका कारण विमान दुर्घटना भएको पाइन्छ । नेपालमा भने खराब मौसम, अप्ठ्यारो भौगोलिक अवस्था आदिका कारण धेरै विमान दुर्घटना हुने गरेका छन् । सन् १९५५ को अगष्टमा पहिलो विमान दुर्घटना भएयता नेपालमा विमान दूघर्टनामा परेर ९ सय भन्दा धेरैले ज्यान गुमाइसकेका छन् । एजेन्सीहरुको सहयोगमा

Translate »