कर्णाली प्रदेश सभामुखका लागि दुई जनाको मनोनयन दर्ता

स्काई न्यूज /माघ ३०, सुर्खेत । कर्णाली प्रदेश सभाको सभामुख पदका लागि दुई जनाको मनोनयन दर्ता भएको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेका नन्दा गुरुङ र प्रतिपक्षबाट नेपाली काँग्रेसका खड्गबहादुर पोखरेलले शनिबार मनोनयन दर्ता गराएका हुन् ।

४० सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धन मध्ये नेकपा माओवादी केन्द्रका–१३, नेकपा एमालेका–१०, राप्रपा र नेकपा एकीकृत एसका १/१ गरि २५ सांसद छन् भने काँग्रेससँग १४ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

पोखरेल प्रत्यक्षबाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक कोटाबाट सांसद बन्नु भएको हो । सभामुखको निर्वाचन आइतबार बिहान ११ बजे हुनेछ । सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो ।

कुनै अनहोनी नभए जीतका लागि सत्तारुढ दलहरुको मत पर्याप्त रहेकाले कर्णाली प्रदेशको सभामुखमा गुरुङ्ग विजयी हुने निश्चित देखिन्छ । उनी विजयी भएमा संघीयताको ईतिहासमा पहिलो प्रादेशिक सभामुख बन्ने सौभाग्य गुरुङलाई प्राप्त हुनेछ ।

Translate »