सुर्खेतको बाबियाचौरमा विद्युत् पुग्यो

पुस ३०, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । प्राधिकरण वितरण केन्द्र सुर्खेतका अनुसार कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरसम्म ३३ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण गरिएको हो । पश्चिमको बाबियाचौरसम्म केन्द्रीय प्रसारण लाइनको पोल गाड्ने, तार जोड्ने, स्टेक राख्ने, ट्रान्सफर्मर जडानलगायतका तयारी पूरा भएपछि गरिएको परीक्षण सफल भएको केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिए ।

प्राधिकरणले पञ्चपुरी नगरपालिका वडा नं १०, ११ र बाबियाचौरका लागि चार ठाउँमा ३३–३३ केभीएको ट्रान्सफर्मर जडान गरेको छ । रावतका अनुसार भेरीपुलमा राखेको ट्रान्सफर्मरबाट वडा नं १० का करीब दुई सय ५० घरमा विद्युत् प्रवाह हुने अपेक्षा गरिएको छ । यसैगरी वडा नं ११ मा रहेको ट्रान्सफर्मरबाट पनि करीब दुई सय घरधुरीमा विद्युत् प्रवाह हुनेछ । उक्त क्षेत्रमा पहिले जडान भएका पोल र तारबाट विद्युत् विस्तारको काम भइरहेकोे छ भने पोल, तार नपुगेका ठाउँमा नयाँ थप्ने काम भइरहेको प्राधिकरणको भनाइ छ ।

विद्युत् परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुनसक्ने भएकाले सचेत रहन केन्द्रले आग्रह गरेको छ । कैलालीको सोल्टाबाट सुर्खेत पश्चिमको बाबियाचौरसम्म नियमित विद्युत् प्रवाह हुने भएकाले सो क्षेत्रका पोल, तार, स्टेक, ट्रान्सफर्मरलगायत विद्युतीय संरचनामा नजिक नजान, नछुन र बालबालिका तथा पशुचौपायालाई जथाभावी नछाड्न पनि प्राधिकरणले आग्रह गरेको छ । प्रसारण लाइनको सफल परीक्षण भए पनि बत्ती बाल्न भने अझै केही दिन लाग्ने प्राधिकरणको भनाइ छ । रासस

Translate »