चिसो बढेपछि विद्यालय बन्द

कालिकोट । कालिकोटमा अत्यधिक चिसो बढेपछि तिलागुफा नगरपालिकाका सबै विद्यालय बन्द गरिएका छन् । चिसो बढेका कारणले नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गरिएका हुन् । कालीकोटमा तापक्रम माइनस पाँच डिग्रीमा झरेको छ । चिसोले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको बताएको छ ।

अत्यधिक चिसोका कारण पानी जम्न समेत थालेपछि विद्यालय बन्द गर्नुपरेको नगरपालिका शिक्षा शाखाका विद्यालय निरीक्षक नवीन हमालले बताए । ‘चिसोले गर्दा विद्यालयमा विद्यार्थी आउन पनि छाडे,’ उनले भने, ‘विद्यालय बन्द गर्नुको विकल्प रहेन ।’

चिसो बढ्दै गएका कारण विद्यार्थीले विद्यालय जान नमानेको तिलागुफा नगरपालिका–२ फोइमहादेवका राजबहादुर बुढाले बताए । ‘चिसो अत्यधिक भएकाले कक्षा ९ र १० का विद्यार्थी ट्युसन पढ्न सुर्खेत र नेपालगञ्ज झरेका छन्,’ उनले भने, ‘आठ कक्षासम्मका विद्यार्थी चिसोका कारण विद्यालय जानै सकेका छैनन् ।’ चिसोका कारण पानीको धारामै पानी जम्ने र बग्ने पानी पनि जम्न थालेको तिलागुफा नगरपालिका–४ राँचुलीका स्थानीय नरबहादुर शाहीले बताए । ‘खानेपानीका धारामा पनि पानी जम्न थालेको छ,’ उनले भने, ‘खोला तथा नदीमा पनि चिसोका कारण पानी जम्ने गरेको छ ।’

कालीकोटमा हुस्सु र हावा अत्यधिक चल्ने गरेकाले चिसो बढेको खाँडाचक्र नगरपालिका–२ का अनिपाल विकले बताए । ‘पानी परेको छैन, हावा र हुस्सु लाग्ने हुँदा चिसो निकै बढेको छ,’ उनले भने, ‘चिसोले यहाँको जनजीवन निकै असहज बनेको छ ।’ अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालय कालीकोटले नागरिकलाई सचेत रहन आग्रह गर्दै सूचना जारी गरेको छ । रासस

Translate »