हुम्लाको स्वास्थ्यचौकीलाई ल्यापटप सहयोग

पुस २२, हुम्ला । हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मातहातमाका स्वास्थ्यचौकीलाई ल्यापटप र ट्याब उपलब्ध गराएको छ।

ल्यापटप र ट्याबको प्रयोगबाट स्वास्थ्यचौकीबाट प्रदान हुने सबै सेवामा रिपोर्टिङ गर्न सहज हुने सिमकोट गाउँपालिका–७ डाँडाफया स्वास्थ्यचौकीका संयोजक सन्तोष बोहराले बताए। स्वास्थ्यचौकीबाट प्रदान हुने सबै प्रकारका सेवाको रिपोर्टिङ अनलाइनबाट गर्नुपर्ने भएकाले ल्यापटप अनिवार्य भएका बेला स्वास्थ्यचौकीलाई यी सामान उपलब्ध हुँदा अब जतिबेला र जुुन स्थानबाट पनि रिपोर्टिङ गर्न सकिने उनको भनाइ थियोे।


उक्त स्वास्थ्यचौकीले एकरएक थान ल्यापटप र ट्याब पाएको गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताए । स्वास्थ्यचौकीले आफ्नो प्रगति विवरण कम्प्युुटरमा प्रविष्ट गरेर अनलाइनबाट रिपोर्टिङ गर्नुपर्ने भएकाले स्वास्थ्यचौकीका संयोजकलाई ल्यापटप र ट्याबलेट उपलब्ध गराइएको उनले जानकारी दिए ।

पालिकामा रहेका ठेहे, बरगाउँ, डाँडाफया र स्याँडा स्वास्थ्यचौकीलाई आठवटा ल्यापटप र ट्याब प्रदान गरिएको हो। यसअघि ल्यापटप नहुँदा दैनिक तथा मासिक रिपोर्टिङ गर्न स्वास्थ्यचौकीलाई कठिन हुँदै आएको थियो। उक्त गाउँपालिकाका सबै स्वास्थ्यचौकीमा इन्टरनेट सेवासमेत जडान भइसकेको छ। त्यसैगरी, स्वास्थ्य शाखाले १३ नर्सिङका स्वास्थ्यकर्मीलाई एक एक थान, झोला र टचलाइट पनि प्रदान गरेको थियो । रासस

 

Translate »