नेपालगञ्जमा दादुराको महामारी फैलिएपछि ‘खोप अभियान’ तीव्र

पुस २२, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि आजदेखि खोप अभियान सुरु गरिएको छ ।
केही दिन यता समुदाय स्तरमै दादुरा प्रभावित बालबालिकाको सङ्ख्या उल्लेख्य देखिएपछि आजदेखि खोप लगाउन शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए।
खोप वडा नम्बर ५, ७ र ८ बाट लगाउन शुरु गरिएको उनले जानकारी दिए । यी वडाहरूमा दादुरा प्रभावित बालबालिका बढी भेटिएका छन् । वडा नम्बर ५, ७ र ८ स्थित सहरी स्वास्थ्य क्लिनिक र वडा नम्बर ८ स्थित आइडियल स्कुलमा खोप केन्द्र सञ्चालन गरिएको छ । यी वडाका करिब ४५ सय बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

तत्काल दादुरा देखिएका वडाहरू ५, ७, ८, ९, १०, ११, १४, १५, २२ मा खोप अभियान चलाइँदै छ । अभियान सबै वडामा पुर्याउने तयारी रहेको प्रमुख चन्दले जानकारी दिए । नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा प्रकोप देखिएकाले ९ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खोप लगाइँदै छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा देखिएका बालबालिकालाई घरमै छुट्टै राखेर उपचार गर्ने र गम्भीर बिरामी भएकालाई अस्पताल लैजाने व्यवस्था मिलाएको प्रमुख चन्दले बताए ।
दादुराले नेपालगञ्जमा एक बालकको मृत्यु भइसकेको छ भने २९ जना बढी बिरामी फेला परेका छन् ।